काठमाडौं, ४ साउन – अभिनेता तथा होस्ट सन्दीप क्षेत्रीको ‘ह्वाट द फ्लप’ नामक कार्यक्रम कान्तिपुर टिभी एचडीले बन्द गरेको छ । कान्तिपुर टिभी एचडीको उत्पादन तथा प्रसारण हुदै आइरहेको कार्यक्रमको बन्द गरिएको हो ।
बिहीबार (आज) सूचना जारी गर्दै महिलाको स्वाभिमान र समाजको चेतनालाई सम्मान गर्दै कार्यक्रमको उत्पादन र प्रसारण पूर्णतः रोकिएको टेलिभिजनले जनाएको छ ।
गत असार २३ गते शनिबार प्रसारित उक्त कार्यक्रमको एपिसोडमा अभिनेता पल शाहसँग होस्ट सन्दीप क्षेत्रीले अन्तर्वार्ता लिएका थिए । उक्त अन्तर्वार्तामा महिलालाई मजाकको विषय बनाइएको भन्दै सामाजिक सञ्जालमा व्यापक आलोचना भएको थियो । आलोचनापछि कान्तिपुर टिभीले उक्त एपिसोडलाई हटाएको थियो ।
बिहीबार जारी सूचनामा कान्तिपुर टेलिभिजनले ‘ह्वाट द फ्लप’को ठाउँमा चाँडै नै उत्कृष्ट कार्यक्रम ल्याउने जनाएको छ ।
