काठमाण्डौ, ४ साउन– अहिले मासु खान छाड्नेको जमात विश्वभर नै बढ्दो छ । बीबीसीमा प्रकाशित एक रिपोर्ट अनुसार आफ्नो स्वास्थ्य सुधार्नेदेखि पर्यावरण र जनावारको हितको लागि मासु छाड्नेहरुको संख्या थपिंदै गएको छ ।
बीबीसीमा लेखिएको छ, ‘यदि बेलायतको कुरा गर्ने हो भने एक तिहाइ नागरिकले दाबी गरेका छन् कि उनीहरुले मासु खान छाडिसके । अमेरिकामा पनि दुई तिहाइ नागरिकले विगतमा भन्दा निकै कम मासु खाइरहेको बताउने गरेका छन् ।’
तर विश्वमै शाकाहारीको जमात बढ्दै गएपनि मासुको खपत भने घटेको छैन । पछिल्लो ५० वर्षमा मासुको खपत विश्वमै तीव्र ढंगले बढिरहेको छ । साथै मासुको उत्पादन पनि बढेको छ । मासुको खपत बढ्नुमा मूलतस् दुई कारण देखिएको छ, एक त जनसंख्या वृद्धि । अर्को चाहिं मान्छेको क्रय क्षमता ।
विकसित मुलुकहरुमा मासु उत्पादनको तौरतरिका पनि फरक छ । त्यहाँ मासुकै लागि पशु पालिन्छ । जवान र निरोगी पशुलाई सम्भव भएसम्म एकदमै कम पीडा दिएर बध गरिन्छ । यसरी उत्पादित मासुलाई स्वस्थ मापदण्ड अपनाएर भण्डारण तथा बिक्री वितरण गरिन्छ ।
