पूर्वराष्ट्रपति भण्डारीले फिल्म ‘बगान’ को गरिन् प्रशंसा

३ श्रावण २०८०, बुधबार २१:३३

काठमाडौं, ३ साउन – नेपाली फिल्म ‘बगान’ पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीसहित राजनीतिज्ञ तथा सेलिब्रिटीहरुले हेरेका छन् ।

मंगलबार (आज) बेलुका सिभिल मलस्थित हलमा आयोजित विशेष शोमा फिल्म हेरेपछि पूर्वराष्ट्रपति भण्डारीले फिल्मले समाजलाई सकारात्मक सन्देश दिने बताइकी छन् ।

अभिनेता सरोज खनालले पहिलो पटक निर्देशन गरेको उक्त फिल्मले एकल महिलाको पुनर्विवाहको कथा पेश गरेको छ । राष्ट्रपतिले पूरै समय बसेर फिल्म हेरेकी थिइन् । यस्तै राप्रपा नेपालका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले प्रोत्साहित गर्नुपर्ने विषयलाई फिल्मले उठान गरेको बताए ।

पुरुष महिला दुवैले मुखले अधिकारको कुरा गरे पनि भित्री मनले आफूसँग सम्बन्धित एकल महिलाले विवाह नगरे हुन्थ्यो भन्ने सोच समाजमा अहिले पनि विद्यमान रहेको भन्दै मिश्रले यो विषयलाई सशक्त रुपमा प्रस्तुत गरिएको बताए । पूर्वमन्त्री एवं नेसपा नेतृ हिसिला यमीले अभिनेत्री करिश्मा मानन्धर आफैं पनि तमाम महिलाको लागि प्रेरणाको स्रोत रहेको बताइन् ।

अभिनेता मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, निर्देशक तुलसी घिमिरे, पूर्वडीआईजी रमेश खरेल, संविधानविद् भीमार्जुन आचार्यले पनि पूर्वराष्ट्रपतिसँगै फिल्म हेरेका थिए ।

विशिष्ट व्यक्तिबाट फिल्मबारे प्रतिक्रिया प्राप्त गरेपछि डेब्यु अभिनेत्री प्रमिला कार्की पुलकित सुनिइन् ।