काठमाण्डौ, ३ असार– वैदेशिक रोजगारीका लागि हेल्थ केयर एसिस्टेन्ट ९स्वास्थ्य सेवा सहायक० लाई बेलायत लैजाने पूर्व तयारी अन्तिम चरणमा पुगेको छ ।
त्यसका लागि वैदेशिक रोजगार विभागले आवश्यक तयारी पुरा गरेको हो । विभागले अबको केही दिनभित्रमा अनलाइन आवेदन खोल्ने बताएको छ ।
अबको केही दिनमा अनलाइन आवेदन आह्वान गरिने विभागका महानिर्देशक मदन दहालले जानकारी दिएका छन । उनले भने, ‘३र४ दिनमा आवेदन खुल्छ होला ।
त्यसका तयारी भइरहेको छ । सफ्टवेयरको लन्च २० तारिखमा गर्ने भनेर समय मिलाएका छौँ । सफ्टवेयरको परीक्षण सफल भयो भने ढिलोमा ४ दिनमा आवेदन आह्वान गर्छौ’ ।
पहिलो चरणमा बढीमा २०० जना नेपाली नर्सलाई बेलायत लैजाने गरी तयारी भइरहेको उनले जानकारी दिएका छन । पहिलो चरणमा पठाएका नर्सहरूको कार्यक्षमता राम्रो देखिएको खण्डमा दोस्रो चरणमा थप पठाउने सरकारको तयारी रहेको छ ।
नेपाल र बेलायत सरकारबिच भएको द्विपक्षीय श्रम सम्झौता कार्यान्वयनसम्बन्धी कार्ययोजना केही दिन अगाडि मात्रै मन्त्रिपरिषद्बाट पारित भएको थियो ।
प्रोटोकल पारित भएसँगै श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र वैदेशिक रोजगार विभागले आवश्यक प्रक्रिया अगाडि बढाएको हो ।
नेपाल सरकार र बेलायतबीच ६ भदौ २०७९ मा श्रम सम्झौता ९एमओयू० भएको थियो । सम्झौता भएको लामो समय प्रोटोकलमा अड्किएको थियो ।
त्यसका लागि प्रोटोकलले विभिन्न मापदण्डहरू तय गरेको छ । उक्त मापदण्ड पुरा गरेका नेपाली नर्सहरू बेलायत जान पाउनेछन् । २० वर्ष पुरा गरेर ४५ वर्ष ननाघेका स्टाफ नर्स, बिएससी नर्सिङ, एमएससी नर्सिङ गरेका व्यक्ति जान पाउनेछन् ।
त्यस्तै २ वर्ष कार्य अनुभव गरेको, नेपाल नर्सिङ काउन्सिलबाट लाइसेन्स लिएको व्यक्ति हुनुपर्नेछ । कुनै आपराधिक रेकर्ड नभएको, बेलायत प्रवेशमा रोक लगाइएको व्यक्ति नहुनुपर्ने र कुनै शारीरिक तथा मानसिक समस्या नभएको व्यक्ति हुनु पर्नेछ ।
