‘सीताको अन्तिम अवस्था कष्टप्रद हुन्छ कि भन्ने चिन्ता थियो, तर शान्त मृत्युवरण गरिन्’

२ श्रावण २०८०, मंगलवार १४:३६

काठमाण्डौ, २ साउन– नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ की जीवन संगीनी सीता दाहालको निधनको शोक मनाउन आज प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा श्रद्धाञ्जलीसभा आयोजना गरिको थियो ।

सभामा विभिन्न पार्टीका शिर्ष नेता तथा कुटनीतिक नियोगका प्रतिनिधिहरू उपस्थिति रहेका थिए । श्रद्धाञ्जली कार्यक्रममा सभामुख देवराज घिमिरे तथा पूर्वप्रधानमन्त्रीहरु शेरबहादुर देउवा, माधवकुमार नेपाल, झलनाथ खनाल तथा डा. बाबुराम भट्टराई मञ्चमा आसिन थिए ।

प्रधानन्त्री दाहाल दायाँबायाँ दुई छोरी रेणु दाहाल र गंगा दाहालसँग बसेका थिए । उनीहरु तीनैजनाले सेतो वस्त्र लगाएका थिए । कार्यक्रमको माहोल भावुक थियो । कार्यक्रममा सीता दाहालको जीवनमा आधारित भिडिओ देखाइयो ।

उक्त भिडिओ हेरिरहँदा प्रधानमन्त्री तथा छोरीहरूको आँखामा आँशु देखिएको थियो । श्रद्धाञ्जली कार्यक्रमलाई प्रधानमन्त्री दाहालले मात्र सम्बोधन गरे ।

उनको लिखित सम्बोधनको संक्षेप यस्तो थियोः मेरो जीवनसाथी एवम् सहयोद्धा कमरेड सीता दाहालको निधन भएकामा सबैको साथ र समवेदनाले यो पिडाबाट निस्किन हामीलाई मद्दत मिलेको छ ।

साथै, देश र समाजप्रति थप जिम्मेवार हुन प्रेरित गरिरहेको महसुस गरेका छौं । पछिल्ला वर्षहरुमा हामीले एक छोरी र छोरासहित दुई सन्तानको असामयिक र अकल्पनीय मृत्यू व्यहोर्यौंय ।

शरीरले साथ दिएसम्म यो पिडामा उनी पनि दृढतापूर्वक उभिइन् । बिरामी भएपछि राज्यबाट सुविधान नलिइकन उपलब्ध सबैखाले पद्दतिबाट उपचारको प्रयास गरिरह्यौं ।

थला नै परेपछि अन्तिम अवस्था दुखदायी र कष्टप्रद हुन्छ कि भन्ने चिन्ता थियो । आईसीयू वा भेन्टीलेटरमा पीडादायी मृत्युवरण देख्नुपर्छ कि भन्ने चिन्ता थियो ।

तर, बाँच्दासम्म अरुलाई पीडा दिन नजानेकी सीताले मृत्यु पनि शान्त रोजिन् । साढे सात बजे हामीले हस्पिटल लगेको थियौं, साढे आठमा हामी सबैबाट बिदा भइन् ।