कांग्रेस रुपान्तरण अभियानको प्रतिवेदन बुझ्न सभापति देउवाले समय दिएनन्

२ श्रावण २०८०, मंगलवार १४:०५

काठमाण्डौ, २ साउन– कांग्रेस सभापति शेरबहादुर देउवाले कांग्रेसका केही नेताहरुले चलाएको ‘कांग्रेस रुपान्तरण अभियान’ सम्बन्धी प्रतिवेदन बुझ् अस्वीकार गरेका छन्।

उक्त प्रतिवेदन आज मंगलबार बिहान बुझाउने भने पनि देउवाले समय उपलब्ध गराएनन्। त्यसपछि अभियन्ताहरुले पार्टी केन्द्रीय कार्यालयका मुख्य सचिवलाई बुझाएको नेता गुरुराज घिमिरेले जानकारी दिएका छन ।

उनले भने, ‘अन्तक्रियाबाट प्राप्त सुझावहरु सुत्रबद्ध गरेर पार्टी सभापतिलाई बुझाउने कोसिस गर्यौं । राजनीतिक व्यस्तता र अस्वस्थताले हामीलाई समय उपलब्ध भएन, ‘त्यसैले सभापति समक्ष पुगोस् भनेर पार्टी कार्यलयका मुख्य सचिवलाई बुझाएका छौं।’

अभियानद्वारा कांग्रेस रुपान्तरणका लागि २१ बुँदे प्रतिवेदन पेस गरीएको नेता घिमिरेले जानकारी दिएका छन । उनले आफूहरुको अभियानले पार्टी यथास्थितिबाट मुक्त नभए अघि बढ्न नसक्ने बताएका छन ।

उनले भने, ‘ पार्टीलाई यथास्थितिबाट मुक्त गर्न सकिएन भने पार्टीले आगामी चुनौती सामना गर्न सक्दैन। पार्टीका आन्तरिक अव्यवस्थालाई हटाउन सकेनौं भने हामी अघाडि बढ्न सक्दैनौं भन्ने हामीले ठहर गरेका थियौं ’ ।