काठमाण्डौ, २ साउन– बलात्कार गरेको आरोपमा प्रहरीले एक जना चिकित्सकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा बाराको कोल्बीका ३६ वर्षीय चन्द्र भूषण चौधरी रहेका छन ।
प्रेमिकाले बलात्कारको आरोप लगाएपछि प्रहरीले उनलाई पक्राउ गरेको थियो । विवाह गर्ने प्रलोभन देखाएर धोका दिएको आरोप २६ वर्षीया प्रेमिकाको रहेको छ ।
आरोपी चौधरीले जाहेरवालासँग प्रेममा रहेको कुरा स्वीकार गरे पनि परिवारले विवाह गर्न नमानेका कारण आफू टाढिनु परेको बताएका छन ।
परिवारले विवाहका लागि केटी खोज्न थालेपछि आफूविरुद्ध जाहेरी परेको उनले अनुसन्धानका क्रममा बताएका छन । चौधरी २०७५ सालमा बंगलादेशबाट एमबीबीएस सकेर नेपाल फर्किएका थिए।
काठमाण्डौंको शान्तिनगरमा डेरा कोठामा बस्ने क्रममा सोही घरमा बस्दै आएकी जाहेरवालासँग भेट भएको र पछि प्रेम सम्बन्धमा रहेको उनले बयानका क्रममा बताएका छन ।
प्रेम सम्बन्धबारे दुवै परिवारलाई थाहा भए पनि आफ्नो परिवारले आनाकानी गरेका कारण आफू प्रेमिकाबाट टाढिनु परेको उनको भनाई छ।
