काठमाडौं, १ साउन – काठमाडौं जिल्ला अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका केशव तुलाधरलाई १५ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको छ ।
जिल्ला अदालतका एक अधिकारीका अनुसार आइतबार (हिजो) काठमाडौं जिल्ला अदालतका न्यायाधीश माधवप्रसाद घिमिरेको इजलासले तुलाधरलाई धरौटीमा छाड्न आदेश दिएको हो । काठमाडौंको असन घर भई नयाँ बजार बस्ने ५९ वर्षका तुलाधरलाई सानो भर्याङबाट २७ असारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको थियो ।
नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने ठगी प्रकरणमा प्रहरीले बुझाएको प्रतिवेदनका आधारमा जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले ३० जनाविरुद्ध जिल्ला अदालत काठमाडौंमा ठगी तथा संगठित अपराधको मुद्दा दर्ता गरेको थियो ।
जसमध्ये कांग्रेस नेता बालकृष्ण खाँण, एमाले नेता टोपबहादुर रायमाझीसहित १६ जना हाल पुर्पक्षका लागि थुनामा पठाइएका छन् भने दुई जनालाई धरौटी रिहा गरेको छ । तुलाधरसहित केही व्यक्ति भने फरार रहेका थिए । उनी पक्राउ परेपछि आइतबार जिल्ला अदालत काठमाडौंमा पेश गरिएको थियो ।
प्रहरीका अनुसार उनले विभिन्न प्रलोभनमा पारी जाहेरवाला गजेन्द्र बुढाथोकीसहित केही व्यक्तिलाई ठगी गरेका थिए ।
