काठमाडौँ, १ साउन – नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सत्ता टिकाउनका लागि नेपालको परराष्ट्र नीतिमै सन्तुलन गुमाउने खालको काममा संलग्न भएको एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले आरोप लगाएका छन् ।
सोमबार (आज) त्रिभुवन विश्वविद्यालय नेपाल र एशीयाली अनुसन्धान केन्द्र (सिनास)ले कीर्तिपुरमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले सत्ता टिकाउनका लागि असंलग्नताको परराष्ट्र नीतिमा विचलन ल्याउने काम नगर्न सरकारलाई सचेत गराए ।
प्रधानमन्त्री प्रचण्डले भारत भम्रणको क्रममा नेपालको हितलाई समेत ध्यानमा नराखि विद्युत खरिद सहितको सम्झौता गरेको भन्दै उनले आपत्ति जनाए ।
पछिल्ला दिनमा नेपालले नजानिँदो ढंगले एउटा देशप्रति बढि आशक्ति देखाउनु राष्ट्रका लागि हितकर नभएको उपमहासचिव ज्ञवालीले बताए ।
‘असंलग्नता नेपालको लागि सान्दर्भिक छ । पछिल्ला दिनमा त्यसमा बिचलनहरु देखा पर्न थालेका छन् । सत्ता टिकाउनका निम्ति जस्तोसुकै पनि जोखिम गर्दा केही वर्ष सत्ता टिक्ने कुरा एउटा होला कि ? तर नेपालजस्तो देशले धेरैधेरै मूल्य चुकाउनु पर्छ , उनले भने।’
नेपालले आफ्नो राष्ट्रिय हितलाई ध्यानमा राखेर छिमेकी मुलुकहरुसँगको सम्बन्धलाई अघि बढाउनुपर्ने नेता ज्ञवालीले बताए । यस्तै कार्यक्रममा बोल्दै नेपाली काँग्रेसकी नेतृ एवं पूर्वपरराष्ट्रमन्त्री सुजाता कोइरालाले नेपालले भारत–चीनबीचको सम्बन्ध बलियो बनाउने काममा प्रयास गर्नुपर्ने बताइन् ।
