जंगली च्याउ खाँदा रोल्पामा एकै परिवारका तीन जनाको मृत्यु

३१ असार २०८०, आईतवार १६:३६

काठमाण्डौ, ३१ असार– रोल्पामा जंगली च्याउ खाँदा एकै परिवारका तीन जनाको मृत्यु भएको छ । च्याउ खाँदा दुई बालक र उनीहरुकी आमाको मृत्यु भएको प्रहरीले बताएको छ ।

मृत्यु हुनेमा लुंग्री गाउँपालिका–५ कालापोखरा घर भएका ३३ वर्षिया भीमा गुरुङ उनका ११ वर्षका छोरा सुशील गुरुङ र ६ वर्षका छोरा प्रेम गुरुङ रहेका छन ।

२८ असारमा जंगलबाट ल्याएको च्याउ खाएका कारण उनीहरुको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जानकारी दिएको छ ।

जंगली च्याउ खाई बिरामी परेपछि २८ असारमै उनीहरुलाई उपचारका लागि सुलीचौरस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा लगिएको थियो ।

तर त्यहाँ उपचार हुन नसकेपछि लुम्बिनी प्रादेशिक अस्पताल वुटवल लगिएको थियो । उनीहरु तीनै जनाको बुटवलमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रवक्ता प्रकाश भुसालले जानकारी दिएका छन ।

६ वर्षका प्रेम गुरुङको २८ असारमा, ११ वर्षका सुशील गुरुङको ३० असारमा र आमा भीमाको आइतबार मृत्यु भएको प्रहरीले बताएको छ ।

लुंग्री गाउँपालिका–५ बुझिङमा जंगली च्याउ खाएका कारण ५ जना बिरामी परेका छन् । उनीहरुको प्राथमिक स्वास्थ्य केन्द्र सुलीचौरमा उपचार भइरहेको र अवस्था सामान्य रहेको प्रहरीको बताएको छ ।

यस्तै २८ असारमै लुंग्री गाउँपालिका–१ मा पनि जंगली च्याउ खाएर ६ जना बिरामी परेका थिए । उनीहरुको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचार भइरहेको प्रहरीले बताएको छ ।