राष्ट्रपतिले बजेटसम्बन्धी विधेयक प्रमाणीकरण गरे

३१ असार २०८०, आईतवार १४:४६

काठमाण्डौ, ३१ असार– राष्ट्रपति रामचन्द्र पौडेलबाट आर्थिक वर्ष २०८०र८१ को बजेट प्रमाणीकरण भएको छ । आज आइतबार राष्ट्रपति कार्यालयले एक विज्ञप्ति जारी गरी बजेटसँग सम्बन्धित तीनवटै विधेयक प्रमाणीकरण भएको जानकारी दिएको छ ।

विनियोजन विधेयक, आर्थिक विधेयक र राष्ट्र ऋण उठाउने विधेयक राष्ट्रपति रामचन्द्र पौडेलले आइतबार प्रमाणीकरण गरेका राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईले जानकारी दिएकी छन् ।

अर्थमन्त्री डा. प्रकाशशरण महतले गत १५ जेठमा आगामी आर्थिक वर्ष २०८०र८१ को बजेट ल्याएका थिए । उक्त विधेयक प्रतिनिधिसभा र राष्ट्रियसभामा छलफल भई पारित भएपछि राष्ट्रपतिसमक्ष पठाइएको थियो ।

राष्ट्रपतिले विधेयक प्रमाणीकरण गरेपछि अब बजेट कार्यान्वयनका लागि बाटो खुलेको छ । आगामी आर्थिक वर्षको बजेट १ साउन अर्थात सोमबारदेखि कार्यान्वयन हुदै छ ।