काठमाण्डौ, ३१ असार– एमाले उपमहासचिव प्रदीप ज्ञवालीले एमसीसी सदनबाट पारित भइसकेको परिप्रेक्ष्यमा अब त्यसलाई बिना व्यवधान कार्यान्वयन गर्नुपर्ने बताएका छन ।
अमेरिकी सहायक विदेश मन्त्री डोनाल्ड लुको भ्रमणका क्रममा एमाले नेतृत्वसँग भएको कुराकानीको सन्दर्भमा प्रतिक्रिया दिँदै उनले यस्तो बताएका हुन ।
उनले भने, ‘एमसीसी परियोजना पारित भइसकेको परिप्रेक्ष्यमा त्यसको बिना व्यवधान समयसीमाभित्रै कार्यान्वयन हुनुपर्छ भन्ने हामी ठान्छौं। तिनै विषयमा कुराकानी भएको छ।’
पुर्व प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली र लुबीच शुक्रबार ओली निवास बालकोटमा भेट भएको थियो। त्यहाँ एमसीसीका विषयमा पनि कुराकानी भएका थिए।
नेपाल–अमेरिका दुईपक्षीय सम्बन्धका विविध पक्षहरुका बारेमा पनि भेटघाटमा छलफल भएको ज्ञवालीले बताएका छन । उनले भने, ‘हामी नेपालको विकासमा सहयोगी हुनसक्ने अन्य मित्रराष्ट्रहरुबाट प्राप्त हुने सहायतालाई पनि व्यवस्थित ढंगले राष्ट्रिय हितमा कार्यान्वयन गरिनुपर्छ भन्ने पक्षमा छौं। हामीले त्यही कुराहरु सम्प्रेषित गरेका छौं । ’
