मतभेदका कारण न्यायाधीश नियुक्ति नभएको होइन: प्रधानन्यायाधीश

३१ असार २०८०, आईतवार १३:३४

काठमाण्डौ, ३१ असार– प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले न्यायाधीश नियुक्तिका लागि प्रयास भई रहेको बताएका छन । आज आइतबार पत्रकारहरुसँगको छलफलका क्रममा उनले यस्तो बताएका हुन ।

उनले अहिले न्यायपरिषदका सदस्यहरुको कार्यव्यस्तताका कारण न्यायाधीश नियुक्त हुन नसकेको बताएका छन । उनले भने, ‘अहिले मतभेद वा अरु कारणले न्यायाधीशको नियुक्ति हुन नसकेको हौइन, बरु कहिले को कहिले को व्यस्त भएर परिषदको बैठक हुन नसकेको हो’, ‘अझै पनि बैठक डाकेर न्यायाधीश नियुक्ती गर्ने प्रयासमा लाग्नेछु ।’

नेपालमा प्रधानन्यायाधीशको अध्यक्षतामा रहने न्यायपरिषद बैठकले न्यायाधीश नियुक्ति सिफारिस गर्ने गर्छ । तर प्रधानन्यायाधीश र कानुनमन्त्रीबीचको मतभेदले बैठक बस्न नसकेको समाचारहरु सार्वजनिक भएका छन् ।

प्रधानन्यायाधीश कार्कीको पदावधि अब २० दिन बाँकी रहेको छ । उनी उमेर हदका कारण २० साउनमा अनिवार्य अवकाश भएपछि सर्वोच्च अदालतमा रिक्त न्यायाधीशको संख्या ७ पुग्नेछ ।

त्यस्तै उच्च अदालतहरुमा पनि ६० जना न्यायाधीशको पद रिक्त रहेको प्रधानन्यायाधीश कार्कीले बताएका छन । उनले अनुहार नहेरी वस्तुनिष्ठताका आधारमा न्यायाधीश नियुक्ती गर्ने प्रयास जारी रहने पनि बताएका छन ।

उनले न्यायाधीशको कमीका बाबजुद एक वर्षमा सर्वोच्च अदालतले १२ हजार मुद्दा फैसला गरेको बताएका छन ।