पौडी खेल्ने क्रममा डुबेर कक्षा १० मा अध्ययनरत बालको मृत्यु

३१ असार २०८०, आईतवार १२:२८

काठमाण्डौ, ३१ असार– गोरखाको सुकुन्द्र खोलामा पौडी खेल्ने क्रममा एक बालकको ज्यान गएको छ । मृत्यु हुनेमा धार्चे गाउँपालिका–२ केरौजा घर भएका १५ वर्षीय कबिन्स गुरुङ रहेका छन ।

उनको गोरखाको आरुघाट गाउँपालिका–२ छापठोट्नेरीस्थित सुकुन्द्र खोलामा पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गोरखाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक (डिएसपी) रमेशकुमार श्रेष्ठले जानकारी दिएका छन ।

मान्वुस्थित श्री भवानी माध्यमिक विद्यालयमा कक्षा १० मा अध्ययनरत बालक गुरुङ विद्यालयको होस्टल बसेर पढ्दै आएका थिए ।

होस्टलमा बस्दै आएका अर्का एक जना साथीसँगै खोलामा पौडी खेल्ने क्रममा डुबेर बालकको मृत्यु भएको प्रहरीले बताएको छ ।

पौडी खेल्ने क्रममा डुबेका उनलाई उद्धार गरेर आरुघाटमा रहेको प्राथमिक स्वास्थ्य केन्द्र आरुचनौटेमा उपचार गर्न पुर्याएको र उपचारका क्रममा नै बालकको मृत्यु भएको प्रहरी नायब उपरीक्षक श्रेष्ठले जानकारी दिए ।

उनीसँगै पौडी खेल्न गएका अर्का बालक भने सकुशल होस्टलमा फर्किएको प्रहरीले बताएको छ । बालक बिहीबार दिउँसो खोलामा पौडी खेल्ने क्रममा डुबेको प्रहरीको भनाइ छ ।