काठमाण्डौ, ३१ असार– वैदेशिक रोजगारीमा जान लागेका श्रमिकहरूलाई रोकेको भन्दै मेनपावर व्यवसायीले अध्यागमन विभाग घेराउ गर्ने भएका छन् ।
नेपाल वैदेशिक रोजगार व्यवसायी संघको आयोजनामा व्यवसायीहरूले विभाग घेराउ गर्न लागेका हुन् । उनीहरूले अध्यागमन विभागका महानिर्देशकले राजीनामा दिनुप्रर्ने समेत माग गरेका छन् ।
आज बिहान ११ बजे विभागको कार्यालय परिसर घेराउ गर्र्ने तयारी रहेको संघका महासचिव मेघनाथ भुर्तेलले जानकारी दिए ।
वैदेशिक रोजगारीका लागि कुवेत जान लागेका ११७ जना श्रमिकलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयले रोक लगाएको थियो । कागजात शंकास्पद रहेको कारण देखाउँदै अध्यागमनले रोकेको थियो । तर, व्यवसायीहरूले भने भिसा, श्रम स्वीकृत, हवाई टिकट लगायतका सबै कागजात हुँदा पनि अध्यागमनले रोकेको आरोप लगाउँदै आएका छन् ।
वैदेशिक रोजगार ऎन २०६४ अनुसार सम्पुर्ण कानुनी प्रक्रिया पूरा गरि संस्थागत रुपमा श्रम स्वीकृत लिएर वैदेशिक रोजगारीमा जान लागेकाहरूलाई अध्यागमनले रोक्दै आएको महासचिव भुर्तेलले बताए ।
