काठमाण्डौ, २९ असार– राष्ट्रिय स्वतन्त्र पार्टीले मिटरब्याज सम्बन्धी विधेयक कार्यसूचीमा नराखे सदन चल्न नदिने बताएको छ । आज शुक्रबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै रास्वपाका सभापति रवि लामिछानेले यस्तो बताएका हुन ।
शुक्रबारको कार्यसूची प्रभावित हुन नदिने उल्लेख गर्दै उनले अर्को प्रतिनिधिसभाको बैठकमा मिटरब्याज सम्बन्धी विधेयक ल्याउन आग्रह गरेका छन ।
उनले भने,‘ आगामी बैठकमा मिटरब्याज सम्बन्धी विधेयक राखिएन भने राष्ट्रिय स्वतन्त्र पार्टी सदन चल्न नदिने पक्षमा उभिने छ ।
यसपछि बस्ने बैठकमा यदि कार्यसूचीमा मिटरब्याज पीडितहरुको पक्षमा ल्याउन खोजिएको विधेयकलाई ल्याइएन भने पूर्व सूचना गरिरहेका छौं कि सदन चल्न सक्दैन, ‘जनतालाई रुवाएर त्यसबारे मौन बसेर सदन चल्न सक्दैन ।’
उनले सत्तापक्षकै केही दलका कारणले मिटरब्याज सम्बन्धी विधेयकलाई रोक्न खोजिएको गाईंगुई सुनिएको उल्लेख गर्दै विधेयक सदनमा ल्याएपछि को पक्षमा र को विपक्षमा खुल्ने पनि बताएका छन ।
सरकारले २० वैशाखमा ल्याएको मिटरब्याज सम्बन्धी अध्यादेश ल्याएको थियो । उक्त अध्यादेशलाई प्रतिस्थापन गर्ने विधेयक २४ वैशाखमा प्रतिनिधिसभामा पेश भएको थियो ।
