सुशासनको अभियानले विश्राम लिँदैन: गृहमन्त्री श्रेष्ठ

२८ असार २०८०, बिहीबार १६:४३

काठमाण्डौ,२८ असार– उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले वर्तमान सरकारले थालेको सुशासनको अभियानले कुनै पनि हालतमा विश्राम नलिने दाबी गरेका छन ।

आज (बिहिबार) बसेको राष्ट्रियसभाको बैठकमा विनियोजन विधेयक, २०८० अन्तर्गत गृह मन्त्रालय शीर्षकमाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै उनले यस्तो बताएका हुन ।

उनले सुशासनलाई आत्मसात् गरेर सरकार अगाडि बढ्ने पनि बताएका छन । उनले भने, ‘सुशासन समृद्धिको पूर्वसर्त हो । सुशासनलाई आत्मसात् गरेर हामी अगाडि बढ्छौँ ।

सुशासन, समृद्धि र सामाजिक न्यायलाई केन्द्रमा राखेर सरकार अगाडि बढ्छm, सुशासनका सन्दर्भमा सरकारले चालेको कदमलाई सिङ्गो देश र सदनले जुन समर्थन व्यक्त गरेको छ, त्यसको म उच्च मूल्याङ्कनसहित आभार व्यक्त गर्न चाहन्छु । ’

उनले धनी र गरिब तथा सम्पन्न र विपन्नलाई छुट्टाछुट्टै कानुन नहुने उल्लेख गर्दै निर्दोष कुनै पनि हालतमा नफसुन्, दोषी अपराधी नछुटुन् भन्ने मान्यताअनुसार सुशासनको अभियान अगाडि बढेको बताएका छन ।

उनले साधन स्रोतको सीमाका बीच गृह मन्त्रालयका कामलाई अगाडि बढाउन प्रयत्न गरिएको जानकारी दिएका छन ।