मनाङ एयरको दुर्घटनापछि हेलिकप्टर उडानमा नयाँ नियम

२८ असार २०८०, बिहीबार १५:३४

काठमाण्डौ,२८ असार– नेपाल नागरिक उड्डयन प्राधिकरणले मंगलबार सोलुखुम्बुमा भएको मनाङ एयरको हेलिकप्टर दुर्घटनापछि हेलिकप्टर उडानमा नयाँ नियम ल्याएको छ ।

यस अनुसार अब मनसुन अवधिभर हेलिकप्टरले हिमालमा उडान गर्न नपाउने भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले सेप्टेम्बर २०२३ सम्म माउण्टेन उडान, सिलिङ उडान र पुष्पवृष्टि गर्न रोक लगाएको छ ।

प्राधिकरणले हेलिकप्टरको उडान सञ्चालन अनुमति दिँदा प्रस्थान विन्दु वा अवतरण विन्दुमध्ये कम्तीमा एक स्थान विमानस्थल हुनुपर्ने नियम पनि ल्याएको छ ।

हेलिकप्टरको उडानसम्बन्धी हाल विमानस्थलमा भइरहेको अनुमति दिने काम मनसुन (सेप्टेम्बर २०२३) भर साप्ताहिक रुपमा समीक्षा गरी प्राधिकरणको प्रधान कार्यालयबाटै प्रदान गर्ने निर्णय समेत भएको छ ।

प्राधिकरणले हेलिकप्टर तथा स्टल विमानस्थल (सानो धावनमार्ग भएका हिमाल र पहाडका विमानस्थल) मा हुने दैनिक उडानलाई नियमित सुपरिवेक्षण समेत प्राधिकरणले गर्ने भएको छ ।

यसका लागि अब एक कमिटिले काम गर्ने प्राधिकरणले जानकारी दिएको छ । मंगलबार सोलुको सुर्केबाट काठमाडौंका लागि उडेको मनाङ एयरको हेलिकप्टर दुर्घटनामा चालकसहित ६ जनाको मृत्यु भएको थियो ।

यो हेलिकप्टर माउन्टेन फ्लाइटका लागि सो क्षेत्रमा पुगेको थियो । त्यसअगाडी संखुवासभामा भएको सिम्रिक एयरको हेलिकप्टर दुर्घटना हाइड्रोपावरको सामान ओसार्ने क्रममा भएको थियो ।