सामाजिक सञ्जाललाई मर्यादित र व्यवस्थित गर्ने सरकारको तयारी

२८ असार २०८०, बिहीबार १५:१२

काठमाण्डौ,२८ असार– सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सामाजिक सञ्जाललाई कानून बनाउन मर्यादित र व्यवस्थित गर्ने बताएकी छन ।

आज (बिहीबार) बसेको राष्ट्रिय सभा बैठकलाई सम्बोधन गर्दै मन्त्री शर्माले यस्तो बताएकी हुन । उनले डिजिटल साक्षरता प्रवर्द्धन गर्न र सामाजिक सञ्जाललाई कानूनी दायरामा ल्याई मर्यादित र व्यवस्थित गर्न मन्त्रालय लागि परेको बताइन।

उनले आगामी आर्थिक वर्षमा कानून बनाई सामाजिक सञ्जाललाई मर्यादित गर्न ठोस कदम चालिने बताएकी छन । उनले विद्युतीय तथ्यांकहरुको सुरक्षा भण्डारण र उपयोगलाई व्यवस्थित बनाउन विद्युतिय तथ्यांक सुरक्षा नीति तर्जुमा गरिने पनि बताएकी छन ।

त्यस्तै उनले साइबर सुरक्षासँग सम्बन्धित विषयहरु एकीकृत गरी राष्ट्रिय साइबर सुरक्षा नीति मन्त्रिपरिषद्मा लैजाने तयारी गरिरहेको पनि बताएकी छन ।

मन्त्री शर्माले भनिन्, ‘सधैँ नीति र कानून तर्जुमा गर्दा प्रेस स्वतन्त्रताको सुनिश्चितता कायम गरिनेछ । सूचना प्रविधिको बढ्दो प्रयोगसँगै साइबर सुरक्षाको जोखिम न्यूनीकरण गर्नु चुनौतीको रूपमा रहेको छ ।

डिजिटल साक्षरता प्रवर्द्धन गर्ने, र सामाजिक सञ्जाललाई कानूनी दायरामा ल्याई मर्यादित र व्यवस्थित गर्न मन्त्रालय लागि परेको छ । समाजिक सञ्जालको विषयमा गम्भिरतापूर्वक कुरा उठाउनुभएको छ, यसका लागि हामी आगामी आर्थिक वर्षमा कानूनको तर्जुमा गरी सामाजिक सञ्जाललाई मर्यादित गर्न ठोस कदम चालिने व्यहोरा अवगत गराउन चाहन्छु ।’