काठमाण्डौ,२८ असार– त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयले वैदेशिक रोजगारीका लागी कुवेत जान लागेका ११७ जना श्रमिकलाई विमानस्थलबाटै फर्काएको छ ।
भिसा शंकास्पद रहेको भन्दै अध्यागमन कार्यालयले बुधबार साँझ सलाम एयरमार्फत कुवेत जान लागेका १०१ जना र बिहीबार बिहान कुवेत एयरमार्फत कुवेतमा जान लगेका १६ जना श्रमिकलाई विमानस्थलबाट फर्काएको त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयले जानकारी दिएको छ ।
यता मेनपावर व्यवसायीले भने सबै प्रक्रिया पूरा गरेपनि श्रमिकलाई कर्मचारीले दुस्ख दिने नियतले गन्तव्य मुलुक जान नदिएको बताएका छन ।
विभिन्न म्यानपावर कम्पनीमार्फत विभिन्न कम्पनीहरुमा काम गर्न भन्दै वैदेशिक रोजगार विभागबाट उनीहरूले श्रम स्वीकृति पनि लिइएका थिए ।
तर, अध्यागमनले सोधपुछका क्रममा विदेशमा घरेलु श्रमिकका रुपमा लैजान लागेको देखिएको भन्दै फर्काइदिएको हो । फर्काइएकामध्ये करिब आधा महिला रहेका छन ।
श्रमिकको पासपोर्टमा एउटा खालको भिसा र ब्यागेजमा अर्को भिसाको कागजात रहेको पुष्टि भएपछि उनीहरुलाई फर्काइएको अध्यागमन विभागमा महानिर्देशक झलकराम अधिकारीले जानकारी दिएको छन् ।
जाली भिसा लगाएको पुष्टि भएमा विभाग आफैंले पनि कारवाही गर्ने महानिर्देशक अधिकारीले जानकारी दिएका छन ।यस अघी आइतबार श्रम स्वीकृति लिएर जोर्डन हिंडेका १५ जनालाई अध्यागमन कार्यालयले विमानस्थलबाट फर्काएको थियो ।
