आज महिला फुटबलमा नेपालले बंगलादेशसँग खेल्दै

२८ असार २०८०, बिहीबार ११:१३

काठमाण्डौ, २८ असार– नेपाली राष्ट्रिय महिला फुटबल टिमले दुई खेलको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल सिरिजको पहिलो खेलमा आज बंगलादेशसँग खेल्दैछ ।

खेल ढाकामा नेपाली समय अनुसार बेलुकी सवा ५ बजे बाट सुरु हुनेछ । चीनमा आगामी सेप्टेम्बर–अक्टोबरमा हुने १९औं एसियन गेम्सको तयारी स्वरुप नेपालको महिला टोलीले बंगलादेशसँग दुई मैत्रीपूर्ण खेल खेल्न लागेको हो ।

गएको वर्ष भएको साफ महिला च्याम्पियनसिपको फाइनलपछि नेपाल र बंगलादेशको महिला टिम पहिलो पटक भिड्न लागेका हुन् ।

त्यसबेला काठमाण्डौमै घरेलु टोली नेपाललाई ३–१ ले हराएर बंगलादेश पहिलो पटक साफ च्याम्पियन बनेको थियो ।
यो पटक नेपाल त्यो हारको बदला लिने लक्ष्यमा छ । साफपछि नेपालले भारतलाई दुई मेत्रीपूर्ण खेल र भियतनामसँग ओलम्पिक छनोटमा दुई खेल खेलेको थियो ।