जेलमा चिनेको साथीसँग मिलेर अपहरण, फिरौती लिएको दुई महिनापछि पक्राउ

२७ असार २०८०, बुधबार १५:१५

काठमाण्डौ,२७ असार– प्रहरीले सुनसरीका दुई युवकको अपहरण गरी फिरौती लिएको आरोपमा एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सुनसरीको बराहक्षेत्र नगरपालिका–५ का २९ वर्षीय सन्तोष बस्नेत रहेका छन । भारतीय गिरोहसँग मिलेर चिनजानकै साथीको अपहरण गरेको आरोपमा प्रहरीले बस्नेतलाई पक्राउ गरेको हो ।

बस्नेतले भारतीय नागरिक इम्तियाजसहितको गिरोहसँग मिलेर बराहक्षेत्र नगरपालिका–५ का १९ वर्षका सौगात भण्डारी र २२ वर्षका छविलाल आचार्यको अपहरण गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता डीएसपी राजकुमार राईले जानकारी दिएका छन ।

प्रहरीका अनुसार सौगात भण्डारी, छविलाल आचार्य, हरि आचार्य र सुनिल गरी २५ वैशाखको दिउँसो भारतको बेला बजारमा किनमेल गर्न गएका थिए ।

त्यहाँबाट फर्किँदा सौगात र छविलाल चढेको मोटरसाइकल नियन्त्रणमा लिँदै इम्तियाजसहित सात जनाको समूहले उनीहरुको अपहरण गरेको थियो ।

प्रहरीका अनुसार पक्राउ परेका सन्तोष बस्नेत र अपहरणमा परेका दुई युवाबीच सामान्य चिनजान थियो । अपहरणकारीले बन्धक बनाएर राखेको भोलिपल्ट वैशाख २६ गते सौगातका बाबुलाई फोन गरेर ५० लाख रुपैयाँ फिरौती मागेका थिए ।

धम्कीसहितको फोन आएपछि सौगातका बाबुले फिरौतीवापत वैशाख २६ गते सन्तोष बस्नेतलाई १ लाख ५० हजार रूपैयाँ बुझाएका थिए ।

प्रहरीले सन्तोषको घरबाट सो रकम पनि बरामद गरेको डीएसपी राईले जानकारी दिएका छन ।घटनाको जानकारी पाएपछि अनुसन्धान सुरु गरेको प्रहरीले असार २५ गते बस्नेतलाई सुनसरीको बराहक्षेत्र–१ स्थित झण्डा चोकबाट पक्राउ गरेको हो ।

बस्नेत अपहरणको योजना बनाउने, फिरौती रकम माग्ने तथा रकम बुझ्ने कार्यमा संलग्न भएको प्रहरीको दाबी छ ।

डीएसपी राईका अनुसार बस्नेत र बन्धक बनाउने अपराधिक पृष्ठभूमिका भारतीय नागरिक इम्तियाज लागूऔषध कारोबारी पनि हुन् । इम्तियाज सीमा क्षेत्रमा हुने अपराधिक गतिविधिमा संलग्न रहेको प्रहरीले बताएको छ ।