काठमाण्डौ,२७ असार– एमाले उपमहासचिव एवं स्कुल विभाग प्रमुख प्रदीप ज्ञवालीले वर्तमान सरकार अजिबको भएको बताएका छन ।
उनले संघीयता खारेजीको एजेण्डा बोक्नेदेखि १४ वटा प्रदेशको पक्षमा रहेका मधेसवादी पनि वर्तमान सरकारमा रहेको बताएका छन ।
उनले यस्तो अजिबको सरकारबाट देशले निकास पाउन नसक्ने पनि बताएका छन । आज बुधबार एमाले स्कुल विभाग कर्णाली प्रदेशले आयोजना गरेको प्रदेशस्तरीय प्रशिक्षक–प्रशिक्षण कार्यक्रममा बोल्दै ज्ञवालीले यस्तो बताएका हुन ।
उनले गठबन्धनको सिद्धान्त भनेकै ‘मिलिजुली बसौँ, बाँढीचुढी खाऔँ’ भन्ने रहेको पनि बताएका छन । ज्ञवालीले कुनै पनि पार्टीको विचार र सिद्धान्त के हो भन्ने कुरा प्रधान भएको बताए । उनले भने,‘पार्टीलाई नयाँ पुराना भन्ने हैन, विचार र उसको सिद्धान्त के हो भन्ने कुरा महत्त्वपूर्ण हो ।’
उनले एमालेमा पठनपाठनको संस्कृति हराउँदै गएको बताए । उनले भने, ‘सातै प्रदेशका स्कुलहरू सञ्चालन गर्ने, ७७ वटै जिल्लामा पार्टी स्कुल विभागहरू सञ्चालन गर्ने र त्यसका लागि पार्टीको स्कुलिङ र जनपरिचालनका लागि सात जना केन्द्रीय कमिटीहरू खटिएको छन्,’ ।
साथै उनले विज्ञान प्रविधिले फड्को मारिरहेको अवस्थामा पार्टीलाई सोहीअनुसार अघि बढाइनुपर्ने बताएका छन ।
