साइकल यात्रीलाई मुक्का हान्ने भेटवाल पक्राउ, उनी को हुन त ?

२६ असार २०८०, मंगलवार १८:१३

काठमाडौं, २६ असार – एक साइकल यात्रीलाई मुक्का हानेर सडकमा लडेपछि घिसार्दै गरेको भडियोमा देखिएका व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ।

विराटनगर महानगरपालिका ४ स्थित दूधफारम चोकनजिकै साइकल यात्रीलाई मुक्का हानेर लडाएको भिडियो भाइरल बनेपछि मोरङ प्रहरीले उक्त व्यक्तिको खोजी तीव्र गरेको थियो ।

असार १९ गते राति कोसी राजमार्गमा निजी गाडीबाट ओर्लिएर विराटनगर ४ का १९ वर्षीया आयुष भेटवालले साइकल यात्रु विराटनगर–६ बस्ने पवन साहलाई मुक्का हानेर ढलाएको प्रहरीले जानकारी दिएको थियो । साइकल यात्री शाह मुक्का प्रहारपछि बेहोस भएका उनलाई अमानवीय ढंगले सडकमा घिसारेर पल्लो छेउ पुर्याएका थिए । भेटवालले साइकल यात्रीलाई बेहोस अवस्थामै अमानवीय ढंगले घिसारेको भिडियो सामाजिक सञ्जालहरुमा भाइरल भएको छ ।

जिल्ला प्रहरी कार्यालय मोरङका एसपी दिपक पोखरेलका अनुसार विराटनगर–४ खारजी बस्ने भेटवाललाई घटना भएको १० घण्टापछि पक्राउ गरिएको र अदालतबाट म्याद थप गरी ज्यान मार्ने उद्योग कसुरमा अनुसन्धान भइरहेको छ ।

आफू फ्याक्ट्रीमा काम गरेर साथीसँगै साइकलमा घर फर्कने क्रममा भेटवालले निजी गाडीबाट एक्कासी उत्रिएर मुक्का हानेर बेहोस बनाएको पीडित साहले बताएका छन् ।

उनले भने, “म आफ्नै सुरमा साइकलमा फर्कँदै थिएँ, नजिकै दौडिएर आई एक्कासी मुक्का प्रहार भएपछि म बेहोस भएर सडकमा पछारिएँ, अनाहकमा ज्यान मार्ने गरी आक्रमण भयो । मेरो उनीसँग कुनै दुश्मनी पनि थिएन । मलाई ज्यान मार्न खोज्नेलाई ज्यान मुद्दामा कारबाही हुनुपर्छ ।”

बा१५च ३४४५ नम्बरको कारमा सवार भेटवालले साहमाथि आक्रमण गरेको र उनका मतियारहरुको समेत खोजी भइरहेको प्रहरीले जनाएको छ ।