काठमाण्डौ, २६ असार– पूर्व प्रधानमन्त्री एवं नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बालुवाटारको ललिता निवास जग्गा प्रकरणमा जोसुकै दोषी देखिए पनि कारबाही हुनुपर्ने बताएका छन ।
आज (मंगलबार) नेपाल पत्रकार महासंघ पाल्पा शाखाले तानसेनमा आयोजना गरेको पत्रकार भेटघाटमा बोल्दै नेपालले यस्तो बताएका हुन ।
उनले सरकारी जग्गालाई व्यक्तिको नाममा पास गर्नेहरुलाई दण्ड दिनुपर्ने बताएका छन । उनले आफू प्रधानमन्त्री हुँदा ललितानिवासको जग्गा सरकारी हो कि होइन भनेर कानुनसम्मत रुपमा छुट्याएर अगाडि बढ्ने निर्णय गरेको बताएका छन ।
उनले भने, ‘त्यो निर्णय विपरीत अन्य निकायबाट सरकारी जग्गालाई व्यक्तिको भनेर निर्णय गर्छ भने त्यसको जिम्मेवार को हुने हो ? सरकारी जग्गा हिनामिना प्रकरणमा जोसुकैले कसुर गरेको होस्, उसले दण्ड पाउनुपर्छ ।’
उनले ललितानिवास जग्गा प्रकरणमा नाम आउनेबित्तिकै आत्तिहाल्नुपर्ने अवस्था नहुने बताएका छन । उनले भने, ‘जुनसुकै तहका मान्छेले बदमासी गर्न सक्छन्, त्यसमा जोडिएको, संलग्न, हिस्सेदार छ वा छैन भन्ने कुरासँग पनि जोडिएको हुन्छ ।’
उनले कुनै मानिसलाई निर्णय गरेकै आधारमा दोष लगाउनुभन्दा पनि उसको नियत र त्यसबाट फाइदा लिने गिरोहलाई हेरेर निर्णय गर्नुपर्ने उनको मत छ ।
नेता नेपालले ललिता निवास मात्र नभई, नेपाल ट्रष्टका जग्गा लगायतमा पनि अनुसन्धान गरी दोषीलाई कारबाही गर्नुपर्ने बताएका छन ।
वर्तमान सरकारले भ्रष्टाचारलाई नियन्त्रण गर्ने र दोषीलाई कारबाही गर्ने कार्य गरेको भन्दै उनले प्रशंसा गरेका छन । उनले वर्तमान सरकार पाँच वर्षसम्म मजबुत भएर अघि बढ्ने पनि बताएका छन ।
