काठमाण्डौ, २६ असार– माध्यमिक शिक्षा परीक्षा (एसईई) पछि ज्यादै कम विद्यार्थीको रोजाइमा पर्ने विषय कानुन हो । विगत केही वर्षदेखि न्यायालयमा सर्वसाधारणको सम्कर्प हुने मध्यस्तरको जनशक्ति तयार पार्न सरकारले कक्षा ११, १२ (प्लस टु लेबल)मा पनि कानुन विषयको पढाइ सुरु गरेको छ ।
सरकारले नै न्यायपालिका र कानुन मन्त्रालयमा मध्यमस्तरको जनशक्ति कानुन पढेकै चाहिने रहेछ भन्ने सोचेर न्याय समन्वय समिति, कानुन मन्त्रालयको सिफारिसमा कक्षा ११ र १२ मा काननु पढाउन सुरु गरेको हो ।
एसईईमा डी प्लस मात्र जीपीए ल्याउनेले समेत कानुन पढ्न पाउँछन्। एसईईको नतिजा सार्वजनिक भएसँगै अभिभावकलाई आफ्ना छोराछोरीलाई कुन विषय पढाउने भन्ने निकै चासो हुन्छ ।
विद्यार्थीको रुचि र समाजको आवश्यकतालाई ध्यानमा राखी उचित परामर्श र भविष्य निर्माणका लागि कानुनमा करिअर रोजगार र अवसरका लागि विगत ३ वर्षदेखि विभिन्न कलेजहरूले कक्षा ११ र १२ कानुन विषय पढाउन सुरु गरेका छन ।
कानुनको नयाँ पाठ्क्रमअनुसार कक्षा ११ र १२ गरी २ वर्षमा हजार पूर्णाङ्कमा ७ सय अंकभार कानुनकै हुन्छ। कक्षा ११ मा अनिवार्य नेपाली र अंग्रेजीबाहेक ३ सय पूर्णाङ्क कानुनको विषय अध्ययन गर्नुपर्ने व्यवस्था रहेको छ ।
त्यसमा कानुनको सिद्धान्त, नेपाली कानुन प्रणाली, संवैधानिक कानुन र नेपालको संविधान गरी तीन विषय अध्ययन गर्नुपर्छ भने कक्षा १२ मा अनिवार्य अंग्रेजीबाहेक ४ सय पूर्णाङ्क कानुनको विषय अध्ययन गर्नुपर्ने हुन्छ।
कानुनको मस्यौदा प्रक्रिया, कार्यविधि कानुन, देवानी र फौजदारी कानुन, मानवअधिकारको पनि अध्ययन गर्नुपर्ने हुन्छ । माध्यमिक तहमा कानुनको अध्ययनले विद्यार्र्थीलाई कानुनी भाषा, विधिशास्त्र, संवैधानिक कानुन, मानवअधिकार सामाजिक न्यायलगायतका विषयमा ज्ञान प्राप्त हुन्छ भने भोलिका दिनमा कानुनकै अध्ययन एलएलबीका लागि बलियो बेस तयार हुन्छ ।
नेपालको २०७२ को संविधान घोषणापश्चात संघीयता कार्यन्वयनमा त झन् कानुन पढेका जनशक्तिको माग बढिरहेको छ। स्थानीय तहमा न्यायिक समिति गठन हुने भएकाले अहिले हरेक गाउँपालिका, नगरपालिकाले न्याय सम्पादनको काम गरिरहेको छ।
यसबाहेक उनीहरूले आफ्नो कानुन आफैँ बनाउँछन्। कानुन बनाउनुपर्ने भएपछि उनीहरूलाई कानुन अध्ययन गरेका जनशक्तिको खाँचो छ।
अरू क्षेत्रमा पनि कानुन पढेको जनशक्तिको माग धेरै छ। फेरि ‘ल’ पढ्नेको स्वदेशमा मात्रै होइन विदेशमा पनि माग निकै छ। राम्रो कुरा ११ र १२ मा कानुन विषय पढेपछि विद्यार्थीले स्नातक तहमा कानुनबाहेक अन्य संकायमा समेत अध्ययन गर्न पाउँछन्।
जिल्लादेखि उच्च अदालतसम्म बहस गर्न पाउने अधिवक्ता अनुभवका आधारमा जिल्ला, प्रदेश, उच्च र सर्वोच्च अदातलको पनि न्यायाधीश हुन योग्य हुन्छन्।
अहिले सरकारले लोकसेवामा जान पनि कानुन अध्ययन गर्नैपर्ने बाध्यकारी व्यवस्थाजस्तै पाठ्यक्रम तयार गरेको छ। पछिल्लो समय कानुन विषयमा विद्यार्थीको आकषर्ण बढेको देखीन्छ ।
कानुन पढ्नेलाई के छत अवसर ?
कानुनमा स्नातक गरेपछि धेरै अवसर छन् । कक्षा १२ उत्तीर्ण गरेका विद्यार्थीका लागि कानुन पनि एउटा उपयुक्त विकल्प हो । कानुनतर्फ स्नातक तहमा बिएएलएलबी र एलएलबी गरी दुई थरी कार्यक्रम छन् ।
१२ कक्षापछिका विद्यार्थीका लागि भने पाँचवर्षे बिएएलएलबी मात्र उपयुक्त कार्यक्रम हो । पाँचवर्षे बिएएलएलबी अध्ययन गर्नेमा युवा पुस्ता आकर्षित छन् भने एलएलबी अध्ययनका लागि युवादेखि सरकारी जागिरबाट अवकाश पाएकाहरूसमेतको आकर्षण छ ।
यो विषय पढेका जनशक्ति न्यायाधीश, सरकारी वकिल, प्राइभेट वकिल, कानुन विषयमा माथिल्लो तह अध्ययन गरेपछि शिक्षकसमेत बन्न सक्छन् ।
यो विषयमा ज्ञान भएकाले काम गर्न सक्ने समयसम्म कुनै अवरोध हुँदैन । कानुन शिक्षा लिएकालाई अवसरै–अवसर छन् । कानुन पढेर तर्क गर्न सक्ने क्षमता विकास हुन्छ । त्यसैले, तर्क गर्न सक्ने र तर्क गर्न सक्ने क्षमता बढाउन कानुन पढ्न आवश्यक छ ।
