काठमाण्डौ, २५ असार– प्रहरीले विदेशबाट अवैध सुन ल्याउने धन्दामा संलग्न १२ जनालाई पक्राउ गरेको छ । काठमाण्डौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले कतारको वैदेशिक रोजगारीबाट फर्केका ५ जनासहित १२ जनालाई पक्राउ गरेको हो ।
वैदेशिक रोजगारीमा रहेकाहरुले सिरहाको रितेश जनरल स्टोरका सञ्चालक शिवसुन्दर राउतको सुन बोकेर ल्याएको प्रहरीले जानकारी दिएको छ ।
शिवसुन्दरले अवैध सुन ल्याउनका लागि लामो समयदेखि वैदेशिक रोजगारीमा रहेकाहरुलाई परिचालन गर्दै आएको खुलेको प्रहरीले बताएको छ ।
काठमाण्डौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी मनोज केसीले सन् ०१९ देखि उनको खातामा १ अर्ब ९६ करोड कारोबार देखिएको बताएका छन ।
शिवसुन्दर राउतलाई प्रहरीले सिरहाबाटै पक्राउ गरेको सोमबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिएको छ । यस्तै सिनामंगलमा बी हिमालयन स्पायर होटल सञ्चालन गर्दै आएका विनोद कुमार शाहलाई पनि पक्राउ गरीएको प्रहरीले बताएको छ । उनी सुन संकलनका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका थिए ।
त्रिभुवन अन्तर्राष्ट्रिय एयरपोर्टमा विदेशबाट आउँदा सानो सानो मात्रामा सुनको तस्करी भइरहेको गोप्य सूचनाको आधारमा निगरानी बढाउँदा पछिल्लो पटक बिदेबाट आउने ५ जनाको साथबाट ८२८ ग्राम सुन बरामद भएको प्रहरीले बताएको छ ।
यसरी सुन पटक पटक आउने गरेको प्रहरीको प्रहरी स्रोतले जानकारी दिएको छ । विदेशबाट फर्किने क्रममा सुनसहित पक्राउ पर्ने ५ जनामा धनुषाका सुनिल कुमार महरा, नरेश पजींयार, सिरहाका दिनेश कुमार यादव, कपिलवस्तु सन्तु गुलाम मुराउ र बाँकेका भुम बहादुर वली रहेका छन् ।
यस्तै सुन संकलन गर्ने क्रममा पक्राउ पर्नेमा बिनोदसहित सञ्जु कुमारी शाह दुर्गा प्रसाद यादव र देवानन्द शाह रहेका छन् । यस्तै प्रहरीले सिरहाका मोहन कुमार यादवलाई पनि पक्राउ गरेको छ ।
उनले शिव सुन्दर राउतको खातामा रकम हाल्ने र झिक्ने गरेको खुलेको छ।
