बैतडीकोमा बस दुर्घटना, ३९ जनाभन्दा बढी घाइते

२५ असार २०८०, सोमबार १४:३५


काठमाण्डौ, २५ असार– बैतडीको मेलौलीमा बस दुर्घटना हुँदा ३९ जनाभन्दा बढी घाइते भएका छन । पञ्चेश्वरको कुलाउदेखि महेन्द्रनगरका लागि छुटेको बस मेलौली –पञ्चेश्वर सडकखण्ड अन्तर्गत मेलौली नगरपालिका ७ स्वाखानी भन्ने स्थानमा दुर्घटनामा भएको प्रहरीले बताएको छ ।

आज सोमबार दिउँसो १ बजेतिर लु २ ख २०११ नम्बरको पवनदुत यातायातको बस दुर्घटनामा परेको इलाका प्रहरी कार्यालय पाटनका प्रमुख प्रहरी निरीक्षक कमलप्रसाद चौधरीले जानकारी दिएका छन ।

दुर्घटनामा परी घाइते भएका ३९ जनाको उद्धार गरी केशरपुर प्राथमिक स्वास्थ्य केन्द्र मेलौलीमा पुर्याइसकिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक योगेश खत्रीले जानकारी दिएका छन । बस सडकबाट अन्दाजी चार सय मिटर तल खसेर रुखमा अड्किएको प्रहरीले बताएको छ ।

बसमा कतिजना सवार थिए भन्ने कुरा अझै एकीन हुन बाँकी रहेको प्रहरी निरीक्षक खत्रीले जानकारी दिएको छ । घटना सम्बन्धि थप विवरण आउन बाँकी रहेको प्रहरीले बताएको छ ।