काठमाडौँ, २५ असार – नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले पुष्पलाल कम्युनिस्ट आन्दोलनका दूरदर्शी नेता भएको बताएका छन् ।
अध्यक्ष नेपालले सोमबार ‘पुष्पलाल राष्ट्रिय पुरस्कार’ वितरण समारोह कार्यक्रममा बोल्दै उनी कम्युनिस्ट आन्दोलनको सिद्धान्त, विचार र दस्तावेजलाई अघि सार्ने नेता भएको पनि बताएका हुन् ।
अध्यक्ष नेपालले भने,“पुष्पलाल उच्च व्यक्तित्व हुनुहुन्थ्यो । उहाँले नै काँग्रेस र कम्युनिस्ट दुवै नमिलेर पञ्चायत फाल्न सकिँदैन भन्ने निष्कर्ष निकाल्नु भयो । उहाँको कुरालाई जब निष्कर्षका साथ आत्मसाथ गर्यौँ । तब दुई ठुला वामपन्थी र दक्षिणपन्थी शक्तिहरू मिले । त्यसपछि ३० वर्षको निरङ्कुश पञ्चायतलाई फाल्न सक्यौँ,’ नेपालले भने, ‘उहाँलाई एक दूरदर्शी नेताको रूपमा लिन्छौँ । उहाँले कम्युनिस्ट आन्दोलनको सिद्धान्त विचार र दस्ताबेजहरू अघि सार्नुभयो । कम्युनिस्ट घोषणापत्रलाई नेपालीमा अनुवाद गर्नुभयो ।”
पुष्पलाल एक उच्च व्यक्तित्व भएकोको उनी सधैँ जीवित रहने नेपालले बताए । पुष्पलाल राष्ट्रिय पुरस्कारबाट कमल कोइराला, बालचन्द्र विष्ट र गोपालप्रसाद थपलियालाई सम्मान गरिएको छ ।
