गुल्मी जिल्लाबाट स्मृति कंडेल बनिन् जिल्ला टप

२५ असार २०८०, सोमबार ०८:००

गुल्मी, २५ असार – माध्यमिक शिक्षा परीक्षा (एसईई) मा ४ जीपीए ल्याउने विद्यार्थीलाई गुल्मी जिल्लाको छत्रकोट गाउँपालिकाले सम्मान गरेको छ ।

गत विहीबार प्रकाशित एसईई नतिजामा ४ जीपीए ल्याएकी श्रृङ्गा जनता माध्यमिक विद्यालय छत्रकोट ४ की स्मृति कंडेललाई गाउँपालिकाले सम्मान गरेको हो ।

जिल्लाबाट उत्कृष्ट अंक ल्याएर पास हुन सफल भएको भन्दै कंडेललाई पालिका अध्यक्ष रामप्रसाद पाण्डेले नगद ३५ हजारसहित सम्मान गरे । कार्यक्रममा बधाई ज्ञापन गर्दै गाउँपालिका अध्यक्ष रामप्रसाद पाण्डेयले सामुदायिक विद्यालय पनि उत्कृष्ट नतिजा ल्याउन सक्षम रहेको बताए ।

कंडेलको नतिजाले गाउँको सामुदायिक विद्यालयबाट पनि उत्कृष्ट अंक ल्याएर विद्यार्थी उतीर्ण हुनसक्छन् भन्ने सन्देश प्रवाह भएको उनको भनाइ छ ।
अध्यक्ष पाण्डेले विद्यालयहरुको गुणस्तर वृद्धिको लागि गाउँपालिकाले हरेक क्षेत्रमा सहयोग गर्न तयार रहेको पनि बताए ।

श्रृङ्गा जनता माध्यमिक विद्यालय सामुदायिक विद्यालयतर्फ लुम्बिनी प्रदेशमै उत्कृष्ट बनेको छ ।