काठमाडौं, २४ असार– नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको काराण संसद बन्द भएको एमालेका अध्यक्ष केपी शर्मा ओलीले बताएका छन्।
आज (आइतबार) संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै ओलीले प्रधानमन्त्री प्रचण्डको कारण संसद बन्द भएको एमालेको कारण नभएको बताएका हुन् ।
सदन सञ्चालन गर्न आफूहरू सकारात्मक भएपनि एमालेमाथि लगाइएको गम्भीर आरोपहरू फिर्ता नभएकाले सहमत हुन नसकेको ओलीले जिकिर गरे । प्रधानमन्त्रीको असार २१ गतेको वक्तव्यप्रति गम्भीर आपत्ती रहेको समेत उनले बताए ।
यस्तै प्रधानमन्त्री प्रचण्डको अभिव्यक्तिलाई लिएर एमालेसहित रास्वा र राप्रपाले राजीनामा माग गरेपछि प्रधानमन्त्रीको सचिवालयले विज्ञप्ति जारी गर्दै अभिव्यक्तिलाई लिएर प्रधानमन्त्रीको राजीनामा मागिनु भ्रष्टाचार र जनताका पक्षमा सञ्चालित अभियान रोक्ने मनसाय रहेको बताएको थियो। सम्बन्धको गहिराइलाई व्यक्त गर्न गरिएको भावानात्मक अभिव्यक्तिलाई बंगाएर अतिसयोक्तिपूर्ण राजनीतिकरण गर्नु आफैमा निरर्थक र दुखद् रहेको विज्ञप्तिमा उल्लेख थियो।
प्रधानमन्त्रीको राजीनामा आएपछि मात्रै सहमति जुट्ने ओलीले स्पष्ट पारे । यसअघि आइतबार नै सिंहदरबारमा सदनको गतिरोध अन्त्य गर्ने विषयमा शीर्ष दलको बैठक बसेको थियो।
