काठमाण्डौ, २४ असार– नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को आग्रहमा आज आइतबारका लागि बसेको प्रतिनिधिसभाको बैठक भोलिसम्मका लागि स्थगित भएको छ ।
यसअघि प्रधानमन्त्रीकै आग्रहमा आइतबार दिउँसो एक बजे बोलाइएको बैठक दिउँसो तीन बजे बस्ने गरी सारिएको थियो । संसद् अवरोध खुलाउनेबारे प्रमुख प्रतिपक्षी दल एमालेसँग प्रधानमन्त्री प्रचण्डसहित कांग्रेसका सभापति शेरबहादुर देउवाले आइतबार बिहान छलफल गरेका थिए ।
छलफलमा संसद् बैठकमा प्रधानमन्त्री दाहाललाई स्पष्टीकरण दिनका लागि सम्बोधन गर्न दिने नेताहरुबीच सहमति भएको थियो ।
एक कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले दिएको अभिव्यक्तिलाई लिएर एमालेलगायत राप्रपा र रास्वपाले गत बुधबारदेखि संसद् अवरोध गर्दै आइरहेको थियो ।
प्रधानमन्त्रीले संसद्लाई जवाफ दिनका लागि तयारी गर्न आजको बैठक स्थगित गर्न आग्रह गरेको बुझिएको छ ।
