काठमाडौँ, २४ असार – सरकार संसदीय समिति र संसद् चलाउन गम्भीर नभएको नेकपा एमालेका सचिव एवम् सांसद योगेशकुमार भट्टराईले आरोप लगाएका छन् ।
सांसद भट्टराईले आइतबार सिंहदरबारमा बसेको सार्वजनिक लेखा समितिको बैठकमा बोल्दै संसद् चलाउने, समितिहरु चलाउने, सन्दर्भमा सरकार जिम्मेवार नदेखिएको बताए । उनले पछिल्ला ६ महिनाभित्र बसेका ४१ वटा संसदका बैठकमा प्रभावकारी नतिजा आउन नसकेको उनले बताए। उनले समितिको नेतृत्व चयन गर्न नसक्नु सरकारको कमजोरी भएको पनि बताए ।
सांसद भट्टराईले भने, ‘संसद् चलाउने, समितिहरु चलाउने, सन्दर्भमा सत्ता पक्षको, सरकार जिम्मेवार देखिँदैन । संसद् पनि राम्रोसँग चलिरहेको छैन, यो ६ महिनामा । ४१ वटा बैठक भए यसको प्रभावकारी नतिजा छैन । संसदको बिजनेस सरकारले नै बनाउने हो, तर सरकारले प्रभावकारी ढंगले बिजनेस दिन सकेको छैन, बजेट, नीति ल्याउनु बिजनेस होइन, नियमित काम हो । समितिहरु भनेको सरकारलाई चेक एण्ड ब्यालेन्स गर्ने संसदका अंग हुन्, यी समिति नचलोस्, प्रभावहीन होस् भन्ने सरकारको चाहना देखिन्छ, किनभने अहिलेसम्म नेतृत्व छनोट गर्न नसक्नु, यसमा कमजोरी भएको छ । समितिले दिएका निर्देशनहरु नेपाल सरकार र सरकारका निकायहरुले बिना शर्त कार्यान्वयन गर्नुपर्छ, जटिलता छ भने समितिमा आएर बताउनु पर्छ ।’
