काठमाण्डौ, २४ असार– प्ररमुख प्रतिपक्ष दल एमालेले आज पनि राष्ट्रिय सभाको बैठक अवरुद्ध गरेको छ । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अभिव्यक्तिको विरोध गर्दै एमालेले अवरोध गरेपछि यही असार २५ गतेसम्मका लागि बैठक स्थगित गरिएको छ ।
राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले बैठक सुरु भएको जानकारी गराएलगत्तै एमाले सांसदहरुले ढ्यापढ्याप पार्दै समय मागेका थिए । त्यसपछि राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले भगवती न्यौपानेलाई समय दिएका थिए ।
न्यौपानेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय स्वाधिनताविरुद्ध पटक–पटक धावा बोलेको आरोप राजीनामा नआएसम्म बैठक चल्न नदिने बताएका थिए ।
त्यसपछि एमाले सांसदहरु आफ्नो स्थानबाट उठे । अध्यक्ष तिमिल्सिनाले यथास्थानमा बस्न र बैठक सन्चालनको वातावरण बनाउन आग्रह गरे । तर एमाले सांसदहरुले मानेनन् ।
त्यसपछि अध्यक्ष तिमिल्सिनाले असार २५ गते बिहान ११ बजेर १ मिनेटमा बस्ने गरी बैठक स्थगित भएको जानकारी गराएका छन ।
