काठमाण्डौ, २४ असार– एमालेले आजको संसद बैठक पनि अवरुद्ध गर्ने भएको छ । आज आइतबार दिउँसो १ बजे प्रतिनिधि सभाको बैठक बोलाइएको छ ।
नेकपा एमालेका प्रमुख सचेतक पदम गिरीले आजको संसद बैठकमा पनि विरोध जारी राख्ने जानकारी दिएका छन । उनले भने, ‘प्रधानमन्त्रीले राजीनामा दिनुपर्छ भन्ने हाम्रो अडान कायमै छ, त्यसैले आज पनि हाम्रो विरोध जारी रहन्छ ।
सरदार प्रितम सिंहको बारेमा उनकी छोरी दीप सन्धुले लेखेको ‘रोड्स टु द भ्याली’ पुस्तकको यही असार १८ गते काठमाडौंमा आयोजित विमोचन कार्यक्रममा नेकपा माओवादी केन्द्र्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विवादास्पद अभिव्यक्ति दिएका थिए ।
प्रितम सिंहको प्रशंसा गर्ने क्रममा प्रधानमन्त्री प्रचण्डले आफूलाई एकपटक प्रधानमन्त्री बनाउन प्रितम सिंह पटक–पटक दिल्ली गएको बताएका थिए ।
उक्त अभिव्यक्तिलाई लिएर प्रमुख प्रतिपक्ष दल एमालेले संघीय संसदका दुवै सदनमा अवरोध गर्दै आएको छ । एमालेको अवरोध कायम रहने भएपछि गत शुक्रबार तय भएको प्रतिनिधि सभा बैठक बस्दै नबसी आजसम्मका लागि स्थगित भएको थियो ।
