आर्थिक मामिलामन्त्रीमा प्रधानमन्त्री प्रचण्डका ज्वाइँ आचार्य नियुक्त हुँदै

२४ असार २०८०, आईतवार ०८:५५

विराटनगर, २४ असार – नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका ज्वाईं एवम् माओवादी केन्द्रका प्रदेश सांसद जीवन आचार्य आज कोशी प्रदेशको मन्त्री नियुक्त हुने भएका छन् ।

शुक्रवार नै मन्त्री हुने पक्का भएका आचार्यलाई आज पद तथा गोपनीयताको शपथ खुवाउने कार्यक्रम रहेको छ । शुक्रवार नेपाली काङ्ग्रेसका तर्फबाट प्रदीप सुनुवार र एकीकृत समाजवादीबाट कमल प्रसाद जवेगु विना विभागीय मन्त्री नियुक्त भएका थिए ।

सांसद आचार्यलाई आर्थिक मामिला तथा योजना मन्त्री बनाउने तयारी भएको श्रोतले जनाएको छ । शुक्रवार अपराह्न माओवादीका प्रदेश इन्चार्ज राम कार्की सहित बसेको नेकपा माओवादी संसदीय दलको बैठकले सांसद आचार्यलाई मन्त्री बनाउने सहमति गरेको छ । बैठकमा निकै रस्साकस्सीबीच उनलाई मन्त्री बनाउने सहमति बनेको हो ।

बैठकमा सांसद आचार्यले यो सरकार बनाउन आफूले भूमिका खेलेकाले आफूलाई नै मन्त्री बनाउनुपर्ने दाबी गरेका थिए । धेरै सांसदको विरोध हुँदाहुँदै पनि उनलाई मन्त्री बनाउने सहमति बनेको हो ।