प्रधानमन्त्री प्रचण्ड र ओलीलाई समस्या समाधान गर्न सभामुख घिमिरेको आग्रह

२३ असार २०८०, शनिबार २०:४७

काठमाडौं, २३ असार – संसद अवरोधको समस्या समाधान राजनीतिक दलहरुले नै गर्नुपर्ने सभामुख देवराज घिमिरेले बताएका छन् ।

उनले आफूले सत्तापक्ष र प्रतिपक्ष दुबैलाई आपसमा सहमति खोज्न आग्रह गरिसकेको भन्दै उनले दलहरुले समस्या समाधान गरेपछि मात्र संसदको सञ्चालन हुने बताए ।

उनले भने, ‘इस्युमा विवाद भइसकेपछि इस्युलाई टुंग्याउन मेरो निष्पक्ष भुमिका हुन्छ, क्रियाशील भूमिका हुन्छ । त्यो भूमिकाका लागि मैले आफ्नो सक्दो कोशिसहरु गरिरहेको छु । ‘इस्युलाई समाधान गर्ने वा इस्युलाई थाँती राखेर पनि नियमित गर्नुपर्ने काममा हामी जाउँ भन्ने ठाउँमा ल्याउन उहाँहरुको बीचमा समझदारी हुनुपर्छ’, न्यूज एजेन्सी नेपालसँग कुरा गर्दै उनले भने, ‘समझदारी गर्न नेता, पार्टीहरु पार्टीको बीचमा यी कुरा गराउन पहिलो कुरा त राजनीतिक पार्टीले नै यो जिम्मेवारी निर्वाह गर्नेगरी सोच्नुपर्छ ।’

समस्या समाधानका लागि आफूले सहजीकरण पनि गरिरहेकोसभामुख घिमिरेले बताएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीलाई समस्या समाधानका लागि अग्रसर हुन आग्रह गरेको उनले बताए ।

‘प्रधानमन्त्रीसँग सम्पर्क गरेर तपाईले प्रतिपक्ष दलका नेताहरुलाई बोलाउनुस्, पहल तपाईले गर्नुपर्ने देखेँ भनेर भनेको छु, प्रमुख प्रतिपक्ष दलका नेतालाई पनि अब तपाई बोलाइएको ठाउँमा जान्न भन्ने, नजाने, बसेर समस्याको समाधान खोज्ने भन्दा पनि राजीनामा माग गर्नुहुन्छ के हो भनेर कुरा गरेको छु’ सभामुख घिमिरेले भने ।