काठमाडौं, २२ असार – नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका लैजान्छु भन्दै करोडौं असूली गरेको गिरोहलाई सहयोग गरेको आरोपमा बाहिर चर्चा गरिएका नामहरुप्रति छानबिन भइरहेको नेपाल प्रहरीले जनाएको छ ।
नेपाल प्रहरीको कार्ययोजना २०८० र ३ महिनाको उपलब्धी सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा बोल्दै केन्द्रीय प्रहरी प्रवक्ता कुँवेर कठायतले भुटानी शरणार्थी प्रकरणमा दोस्रो चरणको अनुसन्धान सुरु भएको बताए ।
प्रहरी प्रवक्ताकठायतले भने ‘यो अनुसन्धानका क्रममा बाहिर नाम आएका व्यक्तिहरुमाथि पनि छानबिन भइरहेको छ, त्यसमा तथ्यबाट थप नामहरु आए तीमाथि पनि अनुसन्धान हुन्छ ।’
नेपाल प्रहरीले पछिल्लो तीन महिनामा राष्ट्रिय रुपमा चर्चित ५ वटा मुद्दाको सफल अनुसन्धान गरेको समेत उनले बताए । उनले भने, ‘नक्कली भुटानी शरणार्थी प्रकरण, ललितानिवास प्रकरण, विद्युतीय सट्टेबाजी, सहकारी ठगी र मिटरब्याजीविरुद्ध प्रहरीले पछिल्लो समय उल्लेखनीय हुने गरी अनुसन्धान गरेको छ ।’
पछिल्लो तीन महिनामा प्रहरीले ३ हजार ५६२ जना फरार आरोपीलाई पक्राउ गरेको बताउँदै उनले भने, ‘यो अवधिमा प्रदेश प्रहरी कार्यालयबाट पनि रचनात्मक कार्यहरु भएका छन् ।’
कठायतका अनुसार उपत्यका प्रहरीले ‘सुरक्षित उपत्यका अभियान’, कोशी प्रहरीले ‘पीडित पुनः भेटघाट कार्यक्रम’, मधेशले ‘अल्पसंख्यकसँग प्रहरी’ र बागमतीले ‘स्मार्ट प्रहरी कन्ट्रोल रुम’ अभियान चलाइरहेको छ ।
गण्डकी प्रदेश प्रहरीले ‘कम्यूनिटी इन्भाइरोमेन्ट पुलिसिङ (सीईपी)र हिरासत व्यवस्थापन अभियान’ चलाइरहेको छ भने लुम्बिनीमा आत्महत्या न्यूनिकरण अभियान, कर्णालीमा घरघरमा स्टीकर टाँस, निःशुल्क निवेदन लेखन र सहजीकरण, नागरिकता सहजकर्ता प्रहरी परिचालन र सुदूरपश्चिममा लागूऔषधविरुद्ध महाअभियान चलिरहेको उनले बताए।
