काठमाण्डौ, २२ असार– कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले पहिचान पक्षधरसँग वार्ता र छलफल अघि बढाउन आफु तयार रहेको बताएका छन ।
आज (शुक्रबार) पद तथा गोपनीयताको शपथग्रहणपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो बताएका हुन । मुख्यमन्त्री थापाले अघिल्लो सरकारले सुरु गरेको वार्तालाई निरन्तरता दिने बताएका छन ।
उनले अघि भने, ‘पहिचानको आन्दोलनलाई नजरअन्दाज गर्नुहुँदैन । वार्ता कमिटी गठन गरेर पहिचानको मुद्दालाई सम्बोधन गर्न प्रयास गर्छौं ।’ यद्यपि प्रदेशको नाम फेर्न भने सहज नभएको उनले बताएका छन ।
राजनीतिक सहमति र संविधानको तहबाट सामधान खोज्ने भन्दै मुख्यमन्त्री थापाले भने ‘प्रदेशसभामा दुई तिहाइ पुग्यो भने नाम संशोधन हुनसक्छ ।’
१७ फागुन २०७९ मा प्रदेशको नाम कोशी राखेपछि पहिचान पक्षधर आन्दोलनमा छन् । मुख्यमन्त्री थापाले संविधानको व्यवस्थाअनुसार ३० दिनभित्र विश्वासको मत लिने समेत बताएका छन ।
कांग्रेस संसदीय दलका नेता समेत रहेका थापा नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जसपासँगै सभामुखको समर्थनमा हिजो बिहिबार मुख्यमन्त्री नियुक्त भएका थिए ।
९३ सदस्यीय प्रदेशसभामा बहुमतका लागि ४७ मत आवश्यक पर्छ र सभामुखलाई नजोड्ने हो भने सत्ता पक्षसँग ४६ मत मात मात्र रहेको छ । मुख्यमन्त्री थापाले भने सरकारका लागि सहज बहुमत जुटाउन राप्रपासँग छलफल बताएका छन ।
उनले भने, ‘३० दिनभित्र विश्वासको मत लिन्छौं, त्यसका आधारहरु बन्दैछ’ प्रदेशमा सर्वदलीय सरकार गठनका लागि समेत आफूहरु तयार रहेको भन्दै उनले भने, ‘सभामुखले राजीनामा दिनुपर्दैन ।’
