सङ्खुवासभाका बाढीपीडितका लागि सांसद खड्काले मागे प्रधानमन्त्रीसंग राहत

२२ असार २०८०, शुक्रबार ११:०३

काठमाडौँ, २२ असार – नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ समक्ष नेपाली कांग्रेसका नेता एवं सांसद दीपक खड्काले सङ्खुवासभाका बाढीपीडितलाई राहतको व्यवस्था गर्न माग गरेका छन्।

आज (शुक्रबार) बिहान प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री प्रचण्डलाई भेटेर सांसद खड्काले यही असार २ गतेको अविरल वर्षापछि आएको बाढीपहिरोबाट पीडित जनतालाई सङ्घीय सरकारका तर्फबाट राहतको व्यवस्था मिलाउन आग्रह गरेका हुन् । सङ्खुवासभामा बाढीबाट १८ घरमा क्षति पुगेको, चार जलविद्युत् आयोजनामा पूर्ण क्षति र छ जलविद्युत् आयोजनामा आंशिक क्षति पुगेको उनले बताए ।

बाढीले नहर तथा कुलो बगाउँदा कतिपय स्थानमा अहिलेसम्म पनि रोपाइँ हुन नसकेकाले आगामी दिनमा खाद्यान्न अभाव हुने अवस्था सिर्जना हुने भन्दै उनले प्रधानमन्त्री प्रचण्डको ध्यानाकर्षण गराएका हुन् । बाढीका कारण जलविद्युत् आयोजनामा कार्यरत १९ मजदुर बेपत्ता भएका थिए । तीमध्ये दुई जनाको शव फेला परेको छ । तीनजना घाइतेको उद्धार गरिएको थियो ।

सङ्खुवासभाको हेवाखोलामा आएको बाढीले चैनपुर नगरपालिका र पाँचखपन नगरपालिका जोड्ने पक्की पुल बगाएको थियो भने चैनपुर नगरपालिकाको निर्माणाधीन पुल बगाएको थियो । बाढीले पुल बगाउँदा आवतजावतमा समेत समस्या भएको सांसद खड्काले बताए ।