काठमाण्डौ,२१ असार– प्रहरीले राष्ट्रिय अनुसन्धान विभागका एक जना सूचक बलात्कार आरोपमा पक्राउ गरेको छ । पक्राउ पर्नेमादाङ घर भएका दामोदर पौडेल रहेका छन ।
जिल्ला प्रहरी परिसर, काठमाण्डौंले जबर्जस्ती करणीको कसूरमा विभागमा कार्यरत पौडेललाई पक्राउ गरेको हो । पीडितले दिएको किटानी जाहेरीका आधारमा पौडेललाई पक्राउ गरेर काठमाडौं प्रहरी अन्तर्गतको महिला सेलले थप अनुसन्धान गरिरहेको काठमाडौं प्रहरीका एसपी सीताराम रिजालले जानबारी दिएका छन ।
पीडितका अनुसार सामाजिक सञ्जालमार्फत सम्पर्कमा आएर पौडेल उनीसँग नजिकिएका थिए । विभिन्न डर, धाक, धम्की र प्रलोभन देखाएर नजिकिएर आफूलाई बलात्कार गरेको पीडितको जिकिर छ ।
‘सामाजिक सञ्जाल मार्फत चिनजान भएर कुराकानी हुने क्रममा उनले मलाई विवाह गर्ने भनी प्रेम जालमा पारेर मेरो दैनिक विवरण रेखदेख गर्ने र मेरो पछि लागेर विभिन्न प्रकारले प्रभावमा पारेर मेरो डेरा कोठामा २१ माघ २०७८ मा आएका थिए’, जाहेरीमा भनिएको छ, ‘त्यतिबेला मलाई झुक्याएर विवाह गर्ने भन्दै इच्छाविपरीत करणी गरेका थिए ।
’त्यसपछि पनि कुराकानी भइरहेकोमा विवाह गर्ने विषयमा आलटाल गरिरहने गरेको पीडितको भनाइ छ । कहिले परिवारसँग सल्लाह गर्छु भन्दै त कहिले आफ्नो जन्ममिति समेत दिएर लगन हेर्न लगाएको उनको भनाइ छ ।
