काठमाण्डौ,२१ असार– सत्ता घटक दलहरुले नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको राजीनामा माग्ने प्रमुख प्रतिपक्ष दल एमालेको कदम असंसदीय रहेको ठहर गरेको छ ।
आज (बिहिबार) प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार बसेको सत्ता गठबन्धनको बैठकले एमालेको कदम असंसदीय रहेको भन्दै प्रधानमन्त्री प्रचण्डले राजीनामा दिन नपर्ने र संसदको फेस गर्ने निर्णय गरेको बैठकमा सहभागी नेकपा एकीकृत समाजवादीका नेता राजेन्द्र पाण्डेले जानकारी दिएका छन ।
उनले भने, ‘प्रधानमन्त्री बन्न दिल्ली जानुपर्छ भन्ने प्रकारका कुरा भन्यो भनेर संसदमा हिजो अवरोध गरेको र अवरोध मात्र होइन, प्रमुख प्रतिपक्षी दलले संसदीय दलको बैठकमा प्रधानमन्त्रीको राजीनामा नै माग्ने निर्णय गरेको भन्ने कुरा आयो,’ ‘उहाँहरूले गरेको यो निर्णय असंसदीय निर्णय हो ।
संसदीय अभ्यासमा प्रधानमन्त्रीले बोलेको कुरामा कसैलाई आपत्ति छ भने संसदमा आवाज उठाउन पाउँछ ।’ सरदर प्रितम सिंहबारे लेखिएको पुस्तक विमोचन कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले नेपालको सरकार निर्माण गर्दा भारतसँग छलफल हुने गरेको सन्देश जानेगरी अभिव्यक्ति दिएका थिए ।
यो भनाइलाई लिएर एमालेले प्रधानमन्त्री प्रचण्डको राजीनामा मागेर संसद बैठक अवरुद्ध गर्दै आएको छ । बैठकमा सरकारको नेतृत्वकर्ता दल नेकपा माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा, जसपाका अध्यक्ष उपेन्द्र यादव, एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्र पाण्डे, नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता चौधरी, लोसपाका अध्यक्ष महन्थ ठाकुर, जनमतका अध्यक्ष सीके राउत लगायतका नेताहरु सहभागी रहेका थिए ।
