काठमाण्डौ, २० असार– प्रमुख प्रतिपक्ष दल एमाले सांसद रघुजी पन्तले नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री प्रचण्डको अभिव्यक्तिले सिंगो नेपालको मन रोएको र स्वाभिमान गिरेको बताएका छन ।
आज (बुधबार) बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले यस्तो बताएका हुन । उनले प्रधानमन्त्रीले राजीनामा नदिएसम्म संसद बैठक अगाडी बढाउन नदिने भन्दै नेपालको स्वाभिमानमाथि आघात पुर्याएकाले राजीनामा समेत मागेका छन ।
प्रधामन्त्री प्रचण्डले सोमवार काठमाडौंमा आयोजित एक कार्यक्रममा सरदार प्रितम सिंहले आफूलाई प्रधानमन्त्री बनाउन भारत गएको भन्ने अभिव्यक्तिका कारण सिंगो देश रोएको पन्तको भनाइ छ ।
उनले भने, ‘यी विषयहरुको बारेमा प्रधानमन्त्रीले आज देशलाई के जवाफ दिनुहुन्छ रु देशले उहाँको त्यो अभिव्यक्तिबारे प्रश्न सोधिरहेको छ’, आज मैले दुःखका साथ भन्नुपर्छ नेपाली जनतालाई स्वाभिमानी प्रधानमन्त्री चाहिएको हो ।
देशको हक, हित र स्वाभिमानको रक्षा, टेबुलमा वार्ता गर्दाखेरी त्यसको पक्षमा अडान लिनसक्ने प्रधानमन्त्री चाहिएको हो ।’ सांसद पन्तले नेपाललाई लेन्डुप दोर्जेको नेपाली संस्करण नचाहिएको भन्दै यो विषय क्लियर नभएसम्म प्रधानमन्त्रीको राजीनामा नआएसम्म संसस चल्न नदिने बताए ।
‘यो संसद अब अगाडी बढ्न सक्दैन । देशले उहाँको राजीनामा खोजेको छ । म उहाँको राजीनामा माग्छु । हाम्रो दलको तर्फबाट उहाँको राजीनामाको माग गर्छ’, पन्तले यति भनेपछि एमालेका सांसद उठेका थिए ।
