टिपरको ठक्करबाट आमा छोरीको मृत्यु

२० असार २०८०, बुधबार १४:४९

सुनसरी, २० असार – टिपरले स्कुटरलाई ठक्कर दिँदा आमा छोरीको मृत्यु भएको छ । सुनसरीको इटहरी चोकमा टिपरले स्कुटरलाई ठक्कर दिँदा आमा छोरीको मृत्यु भएको हो।

हिजो (मंगलबार) दिउँसो टिपरको ठक्करबाट इटहरी उपमहानगरपालिका–८ गैसारका ४२ वर्षीया सरिता चौधरी र उनकी छोरी २२ वर्षीया छोरी अनुशा (अंशु) घाइते भएका थिए । गम्भीर घाइते उनीहरुको उपचारका क्रममा न्युरो अस्पताल विराटनगरमा मृत्यु भएको इलाका प्रहरीले कार्यालय इटहरीले जनाएको छ ।

प्रहरी स्रोतका अनुसार कान्छाराम कन्स्ट्रक्सनको ना १ क ९१०७ नम्बरको टिपरले को १४ प ५२६ नम्बरको स्कुटरलाई ठक्कर दिएको थियो । घटनापछि स्थानीय बासिन्दाले टिपरमा तोडफोड गरेका थिए भने नाराबाजीसहित प्रदर्शन गरेका थिए ।

टिपर चालक सर्लाहीको हरिवनका बलबहादुर बम्जनलाई प्रहरीले पक्राउ गरेको छ । इटहरीको कोशी सेन्ट जेम्स कलेजमा बीबीएस प्रथम बर्षमा अध्यायनरत अंशु र उनकी आमाको ज्यान गएपछि विद्यालयले आज शोक विदा दिएको छ ।