गैंडाको माउ बच्चा मारेको घटनामा ३ जना पक्राउ

२० असार २०८०, बुधबार १४:३६

काठमाण्डौ, २० असार– प्रहरीले गत माघमा पूर्वी नवलपरासीमा गैंडाको माउ र बच्चा मारेको अभियोगमा ३ जना लाई पक्राउ गरेको छ ।

गत १२ जेठमा नै नेपाल प्रहरीको केन्द्रीय अनुसन्धन ब्यूरो ९सीआईबी० को टोलीले पक्राउ गरेको उनीहरुलाई बुधबार चितवन राष्ट्रिय निकुञ्जले सार्वजनिक गरेको हो ।

दुई गैंडा मारेको घटनामा प्रत्यक्ष संलग्नको आरोपमा पश्चिम नवलपरासी रामग्राम नगरपालिका–१८ घरमपुर बस्ने कृष्णबहादुर महतो पक्राउ परेका हुन् ।

त्यस्तै पक्राउ पर्नेमा खाग किनबेचको आरोपमा सिखाराम थारु र होमबहादुर बिक रहेका छन ।यो घटनामा अझै दुई जना फरार रहेको प्रहरीले बताएको छ ।

पक्राउ परेका तीनै जनालाई चितवन राष्ट्रिय निकुञ्जले वुधबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ । उनीहरुबाट बरामद गरेको खाग र मारिएको गैंडाको अवस्था आदिको प्राविधिक जाँच पछि खाग सोही गैंडाको भएको पुष्टि भएको चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत डिलबहादुर पुर्जा पुनले जानकारी दिएका छन ।

६ माघ २०७९ मा पूर्वी नवलपरासीको मध्यविन्दु नगरपालिका–२ सीतापुर नजिकैको क्रान्तिघाटमा गैंडाका माउ बच्चा मृत अवस्थामा फेला परेका थिए । १४ बर्षको पोथी गैंडालाई करेन्ट लगाएर मारेर खाग काटिएको थियो ।

खाग काटिएको ठाउँबाट बगिरहेको रगत पानीमा मिसिएको दृश्य घटनास्थलमा देखिथ्यो । माउ मारेको केही मिटर पर खागसमेत नपलाएको चार बर्षको केटो गैंडा मृत अवस्थामा भेटिएको थियो ।

घटनास्थलको झण्डै ३५० मिटर नजिकै सैनिकहरुको भूताहा पोष्ट छ । निकुञ्जको कोर क्षेत्रमा अर्को शहरी पोष्ट छ । तस्करहरुले सैनिकको आँगन अगाडि खुला ठाउँमा हृदय विदारक ढंगले गैडा मारेका थिए ।

निकुञ्जले यो घटनापछि सहायक संरक्षण अधिकृत शान्तबहादुर मगरलाई अनुसन्धान अधिकृत तोकेर घटनाको अनुसन्धान थालेको थियो ।

चितवन राष्ट्रिय निकुञ्ज, नेपाली सेना, डिभिजन वन कार्यालय पश्चिम नवलपरासी, नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोको टोलीले उनीहरुलाई १२ जेठमा पक्राउ गरेको थियो ।

सीआईबीका प्रहरी कर्मचारीले गैंडाको खाग किन्ने ग्राहक बन्दै महंगो शुल्क दिने लोभ देखाएर उनीहरुलाई पक्राउ गर्न सफल भएको हो ।

पक्राउ परेकाहरूको साथबाट लु ४५ प ५११७ नम्बरको मोटरसाइकल, ४ वटा मोवाइल, गैंडाको खाग, बाँसको किल्ला र बेण्डिङ तार बरामद गरिएको प्रहरीले बताएको छ ।

निकुञ्जले ४१ दिनदेखि पक्राउ परेकाहरुसँग सोधपुछ र अनुसन्धान गरिरहेको छ । निकुञ्जका प्रमुख संरक्षण अधिकृत पुनले पक्राउ परेका तीनै जनाविरुद्ध नवलपुर जिल्ला अदालतमा मुद्दा दर्ताका लागि वुधबार नै लैजाने जानकारी दिए ।

राष्ट्रिय निकुञ्ज वन्यजन्तु संरक्षण ऐन, २०२९ को दफा ५ को उपदफा १ को खण्ड (क) ले निषेध गरेको कसुर अपराध गरेकोले सोही ऐनको दफा २६ को उपदफा १ बमोजिम ५ देखि १० लाखसम्म जरिवाना, ५ देखि १५ बर्षसम्म कैद सजाय वा दुबै सजाय हुने व्यवस्था रहेको छ ।