दोश्रो श्रीमानको नाममा नागरिकता लिएपछि दूई जना पक्राउ

२० असार २०८०, बुधबार १३:०५

काठमाण्डौ, २० असार– प्रहरीले दोहोरो नागरिकता लिएको आरोपमा कञ्चनपुरबाट दुई जना पक्राउ गरेको छ । पक्राउ पर्नेमा पञ्चेश्वर गाउँपालिका–५ की ३९ वर्षीया कलावती चन्द र ५८ वर्षीय गम्भीर चन्द रहेका छन ।

उनीहरु श्रीमान श्रीमती भएको कञचनपुर प्रहरीका डिएसपी प्रकाश डाँगीले जानकारी दिएको छ । कलावतीको गम्भीरसँग दोश्रो विवाह हो ।

पहिलो श्रीमानतर्फबाट बनाएको नागरिकता नत्यागी दोश्रो श्रीमानको नाममा नागरिकता बनाएकाले पक्राउ गरिएको डाँगीले जानकारी दिएका छन ।

कलावतीले ०६३ सालमा जिल्ला प्रशासन कार्यालय बैतडीबाट किस्मतिदेवी चन्दको नामबाट नागरिकता लिएको खुलेको छ ।

तर, उनले गम्भीरसँग दोश्रो विवाह गरेपछि जिल्ला प्रशासन कार्यालय कञ्चनपुरबाट कलावतीका नाममा नागरिकता लिएको पाइएको छ ।