आज जसपाले जातीय विभेदविरुद्ध खबरदारी कार्यक्रम गर्ने

२० असार २०८०, बुधबार ११:२५

काठमाण्डौ, २० असार– जनता समाजवादी पार्टी (जसपा)ले नेपालमा हुँदै आएको जातीय विभेदविरुद्ध आज खबरदारी स्वरुपद कार्यक्रम गर्ने भएको छ ।

हालसालै घटेका जुम्लामा अन्तरजातीय विवाह गरेको विरोधमा घरमा आगजनी गरिएको र दाङमा कथित तल्लो जात रहेको भनी डेराबाट निकालिएको घटनाको विरोधमा खबरदारी कार्यक्रम गर्न लागिएको सो पार्टीका केन्द्रीय प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए ।

उनका अनुसार काठमाडौँको माइतीघर मण्डलामा आज दिउँसो १ बजे उक्त घटनाको विरोधमा खबरदारी कार्यक्रम गरिनेछ । उक्त कार्यक्रममा पार्टीका नेता, कार्यकर्तालगायत आम नागरिकलाई जातीय विभेदविरुद्धको आन्दोलनमा सहभागी हुनसमेत सो पार्टीले आह्वान गरेको छ ।

कार्यक्रम पार्टी सम्बद्ध शिल्पी दलित विशेष राष्ट्रिय समिति र जनता समाजवादी दलित मुक्ति सङ्गठनको संयुक्त आयोजनामा हुने जनाइएको छ ।