गायक तथा कलाकार रोविन तामाङको निधन भएको छ। उनी मंगलबार साँझ काठमाडौँको बूढानीलकण्ठ नगरपालिका–५ चिस्यानीस्थित निवासमा मृत फेला परेका हुन्।
उनको शव पोस्टमार्टमका लागि टिचिङ अस्पताल लगिएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार तामाङको निधन कसरी भयो भन्ने खुलेको छैन। शवको प्रकृति र अवस्था हेर्दा आत्महत्याजस्तो नदेखिएको बुढानीलकण्ठ प्रहरीका इन्स्पेक्टर दीपेन्द्र चन्दले बताए। पोस्टमार्टम रिपोर्टबाट मृत्युको कारण खुल्न सक्ने प्रहरीले जनाएको छ।
नेपाली रक ब्याण्ड ‘रविन एन्ड लुज (रविन एन्ड दि न्यू रेभोलुसन)’का संस्थापक रविन पछिल्लो समय फिल्म अभिनयमा व्यस्त थिए। उनले ‘जय पशुराम’, ‘बादशाह जुट’, ‘चिसो एष्ट्रे’, मुखौटा’, ‘छड्के’, ‘नाका’, ‘वान वे’ लगायत दर्जन बढी फिल्ममा अभिनय गरेका छन ।
यस्तै उनले अभिनय गरेको पछिल्लो फिल्म ‘छड्के २’ केही अगाडि प्रदर्शनमा आएको थियो। यस्तै हिन्दी वेब सिरिज ‘दि लास्ट आवर’मा समेत अभिनय गरेका उनको नेपाली रक गीतको विकासमा अतुलनिय योगदान रहेको छ।
