काठमाण्डौ, १९ असार– आइसीसी विश्वकप छनोट अन्तर्गत सातौं स्थानका लागि भएको खेलमा आयरल्याण्डलाई नेपालले २६९ रनको लक्ष्य दिएको छ ।
हरारेको ताकाशिङगा स्पोर्ट्स क्लबमा टस हारेको नेपालले पहिले ब्याटिङ गर्दै निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २६८ रन बनाउन सफल भएको छ ।
नेपाललाई सम्मानजनक स्थितिमा पुर्याजउन आठौं विकेटका लागि सन्दीप लामिछाने र गुल्सन झाले ८० रनको साझेदारी गरेका छन । झाले सर्वाधिक ५७ रनको अविजित अर्धशतकीय पारी खेलेका छन ।
उनले ४१ बलमा ४ चौका र ३ छक्का प्रहार गरेका छन । यससँगै उनले एकदिवसीय अन्तर्राष्ट्रियमा तेस्रो अर्धशतक पूरा गरेका छन । यस्तै सन्दीप लामिछानेले ३० बलमा ३ चौका र १ छक्कासहित ३२ रन बनाएका छन ।
ओपनर ब्याटर अर्जुन साउदले ४८ रन बनाए । उनले ८४ बल खेल्दै ३ चौका र २ छक्का प्रहार गरेका छन ।अर्का ओपनर कुशल भुर्तेल क्रेग योङ्गको बलमा विकेटकिपरको हातबाट क्याच आउट भएका थिए ।
ज्ञानेन्द्र मल्ल ७ रन क्याच भए । त्यसपछि आएका कप्तान रोहित पौडेलले ३५ बल खेल्दै २ चौका र १ छक्का सहित २९ रन जोड्दै विकेटकिपरको हातबाट क्याच भए ।भीम सार्कीले २०, कुशल मल्लले ३ बल खेल्दै ५ चौका र २ छक्का सहित ४४ रन जोडे ।
सातौं स्थानको सेमिफाइनल खेलमा उत्कृष्ट ब्याटिङ गरेका दिपेन्द्र सिंह ऐरी खाता नै नखोली एन्डी म्याकब्राइनको बलमा एलबीडब्ल्यू आउट भए ।करण केसी ३ बलमा १ चौका सहित ४ रनमै क्याच आउट भए ।अन्तिम ब्याटरको रुपमा आएका किशोर महतो १ रनमा अविजित रहे ।
