राजस्व संकलन गर्ने लक्ष्य आधारहीन छ: स्वर्णिम वाग्ले

१९ असार २०८०, मंगलवार १६:३३

काठमाण्डौ, १९ असार– राष्ट्रिय स्वतन्त्र पार्टी सांसद डा. स्वर्णिम वाग्लेले चालु आर्थिक वर्ष राजस्व संकलनको सरकारको लक्ष्य आधारहीन भएको बताएका छन ।

आज मंगलबार बसेको प्रतिनिधिसभाअन्तर्गतको अर्थ समितिको बैठकमा उनले यस्तो बताएका हुन । उनले संशोधित बजेटमा समेत सरकारले ४० दिनको राजस्व संकलन प्रक्षेपण गर्न नसकेको आरोप लगाएका छन ।

उनले असार १८ गतेसम्म आठ खर्ब ६६ अर्ब रुपैयाँ मात्र राजस्व उठाए पनि सरकारले नौ खर्ब उठाएको भन्दै गलत तथ्यांक दिएको बताएका छन ।

एक महिनाअघि मात्र अर्थ मन्त्रालयले बजेटमार्फत ११ खर्ब ८० अर्ब उठाउने घोषणा गरेको भन्दै उनले अब आर्थिक वर्षका बाँकी १२ दिनमा केही चमत्कार नहुने बताएका छन ।

उनले नेपालको औसत राजस्व संकलन तीन अर्ब रहेको भन्दै घटाएको संशोधित अनुमानलाई हेर्दा अब दैनिक २६ अर्ब उठाउनुपर्ने बाध्यता सरकारसामु रहेको पनि बताएका छन ।

उनले भने, ‘असार १८ गतेसम्म सरकारको राजस्व आठ खर्ब ६६ अर्ब मात्रै उठेको छ । नौ खर्ब उठेको छैन । अर्थ मन्त्रालयले एक महिनाअघि मात्रै बजेटमा १,१८० अर्ब उठाउँछु भन्नुभएको छ ।

आर्थिक वर्ष सकिन १२ दिन मात्रै बाँकी छ । औसत राजस्व संकलन तीन अर्बजति मात्रै हुन्छ । सरकारले घटाएको संशोधित अनुमानलाई हेर्दा पनि दिनमा २६ अर्ब राजस्व उठाउनुपर्ने हुन्छ,” उनले भने, “सरकारले ४० दिनको पनि प्रक्षेपण गर्न नसकेको हो कि ? कि अर्को १२ दिनमा अर्को चमत्कार हुँदै छ ।’